शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा, माग पूरा नभई सडकबाट नफर्कने अडान

द एभरेष्ट पोष्ट
९ भदौ २०८२ १०:४४
शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा, माग पूरा नभई सडकबाट नफर्कने अडान

काडमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै आज (भदौ ९)देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाइएको आरोप लगाए ।

गएको वैशाखमा शिक्षकले एक महिनासम्म आन्दोलन गरेका थिए । सरकारसित नौबुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, यही भदौ ६ गते प्रतिनिधिसभामा पेस गरिएको उक्त विधेयकमा ती सहमति कार्यान्वयन नभएकाले महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।

महासंघले ०७५, ०७८, ०८० र २०८१/८२ मा सरकारसँगका सहमति लागु गर्न, अस्थायी शिक्षकका निम्ति ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।

सुवेदीले आन्दोलनको पहिलो चरणमा भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने बताए ।

भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्ट धर्ना दिइने उनले जानकारी दिए ।

भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलन (धर्ना, अवरोध र विरोध प्रदर्शन) थालिने महासंघले जनाएको छ ।

सुवेदीले आफूहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानका निम्ति भन्दै माग पूरा नगरिएसम्म सडकबाट नफर्कने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस