बदलिँदो तीज : अनलाइनमा व्यापार, हलमा भोज

द एभरेष्ट पोष्ट
९ भदौ २०८२ १०:२४
बदलिँदो तीज : अनलाइनमा व्यापार, हलमा भोज

कैलाली : तीज पर्व नजिकिँदा धनगढीसहित सुदूरपश्चिमका बजार रंगीचंगी र भीडभाडले भरिभराउ हुन्थे । सुनचाँदी पसलदेखि साडी–सुट, कस्मेटिकदेखि बुटिकसम्म ग्राहकको चहलपहलले बजार चलायमान देखिन्थ्यो । तर, यस वर्ष तीज आउन एक दिन मात्र बाँकी हुँदा पनि बजार सुनसान छ ।

तीजको मौसममा खानसमेत भ्याइनभ्याइ हुने व्यापारीहरू फुर्सदिला छन् । बिहानदेखि साँझसम्म ग्राहकको पर्खाइमा बस्छन् तर अपेक्षित व्यापार हुँदैन । आएका ग्राहक मोबाइलमा फोटो देखाउँदै भन्छन्, ‘अनलाइनमा देखाएजस्तो सामान छैन ?’ सबै व्यापारीसँग अनलाइन देखाए जस्तो सामान हुँदैन । ‘भयो अब अनलाइन अर्डर गर्छु’ भन्दै ग्राहक फर्किन्छन् । यसको प्रत्यक्ष असर व्यापारीहरूलाई परेको छ ।

धनगढीमा ३६ वर्षदेखि साडी, सुटको व्यापार गर्दै आएका एक व्यापारीले बजारमा यस्तो गिरावट कहिल्यै नभोगेको सुनाए । दैनिक ४० हजारसम्मको कपडा बिक्री गरेका उनलाई अहिले दिनमा ५–७ हजार कटाउन पनि मुस्किल परेको छ । मुख्य बजारमा दुई सटर लिएका उनले मासिक ४५ हजार भाडा तिर्नुपर्छ । तर, व्यापार घाटामा छ । कोरोना महामारीपछि लयमा फर्किरहेको बजार अहिले फेरि सुस्ताएको उनले बताए । मुख्य सिजनमै व्यापारमा आएको भारी गिरावटले व्यवसायी निराश छन् । बजार क्षेत्रका व्यापारी सटर भाडासमेत उठाउन नसकेको गुनासो गर्छन् ।

सुनचाँदी व्यवसाय झनै सुस्त

उसो त कोरोनापछि व्यापार व्यवसाय घाटा गएको र अपेक्षित मुनाफा नपाएको सबैजसो व्यापारीको गुनासो छ । केही वर्षयता सुन व्यवसायमा निरन्तर झनै गिरावट आएको व्यापारीहरू बताउँछन् । सरकारले कर बढाएको र मूल्य बढेका कारण सुन खरिद गर्ने ग्राहक निकै घटेका उनीहरूको भनाइ छ ।

धनगढीको हुलाकरोडस्थित न्यू पशुपति सुनचाँदी गहना पसलका सञ्चालक विवेक सोप सुनचाँदी खपत हुने मुख्य सिजनमै व्यापार घटेको बताउँछन् । उनका अनुसार तीजको समयमा भरिभराउ हुने सुन पसलमा यो वर्ष छिटपुट ग्राहक मात्रै आउने गरेका छन् । ‘पहिले दैनिक भीड हुन्थ्यो ग्राहकको यो वर्ष निकै घटेको छ । अहिले सिजनमै दिनमा ६–७ जना ग्राहक मुस्किलले आउँछन् । सुनको मूल्य सुनेर ग्राहक तर्सन्छन्, अनलाइन व्यापारले पनि असर गरेको छ,’ उनले भने ।

अनलाइनमार्फत केही अर्डर आउने गरे पनि पसलमा खासै ग्राहक नआउने धनगढीका अर्का सुन व्यवसायीले सुनाए । सुन कारोबारमा आएको यो गिरावटको मुख्य कारण सुनमा लागेको विलासिता कर भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर बताउँछन् ।

अनलाइनमा सर्दै किनमेल

पछिल्लो समय अनलाइन व्यापारले पनि भौतिक बजारलाई ठूलो चुनौती दिएको छ । ग्राहकले मोबाइलमार्फत सजिलै सामान हेरेर अर्डर गर्न थालेपछि पसलमा चहलपहल घट्न थालेको हो ।

धनगढी एलएनचोकस्थित सल्मा बुटिककी सञ्चालक सल्मा कुँवर बजारमा व्यापार सुस्ताउनुको प्रमुख कारण अनलाइन कारोबारलाई मान्छिन् । तीजको समयमा उच्च व्यापार हुने उनको बुटिक अहिले घाटामा छ । तीजका बेला पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउने बुटिकमा अहिले २५–३० मात्र आउँछन् । त्यसमध्ये पनि हेर्ने बढी किन्ने कम । मासिक ८५ हजार सटर भाडा उठाउनै मुस्किल परेको उनले बताइन् ।

ग्राहकहरू बजार आउनुको सट्टा घरबाटै सपिङ गर्न थालेपछि व्यापार कम भएको उनले बताइन् । भरपर्दो अनलाइन माध्यमबाहेक अन्यमा ठगी हुने सम्भावना उच्च रहे पनि ग्राहकहरुले अनलाइन अर्डर नै गर्छन् । ‘अनलाइनमा देखाउने एउटा पठाउने अर्को हुन्छ, स्क्याम हुने सम्भावना पनि बढी हुन्छ । तर, ग्राहकले सजिलो ठानेर अनलाइन सपिङ नै गर्छन्,’ सल्मा भन्छिन् । उनको बुटिकमा पनि दिनमा ५–६ वटा अनलाइन अर्डर आउने गर्छ । भौतिक बजारलाई अनलाइनले ठूलो असर पारेको सबैजसो व्यापारी बताउँछन् ।

धनगढी बजारको व्यापार सुस्ताउनुको अर्को कारण खुला सीमा नाका पनि हो । धनगढीमा भारतीय सामान सजिलै प्रवेश हुन्छ । व्यापारीहरूका अनुसार भारतीय सामान सस्तो हुने तर गुणस्तरमा कमी हुने गर्छ । तर ग्राहकले सस्तो सामानलाई प्राथमिकता दिने हुँदा स्थानीय व्यापार प्रभावित भएको छ । सँगै भारतबाट सामान बोकेर आएका व्यापारी टोलटोलमै लगेर बेच्ने गरेको गुनासो एक व्यापारीले गरे । ‘हामीले भन्सार तिर्नुपर्छ, उनीहरूले सहजै टोलटोलमै सामान पुर्‍याउँछन् । त्यसको असर हामीलाई पर्छ,’ उनले सुनाए ।

धनगढीमा भारतीय बजार बनगौँवा र गौरीफन्टा र सुणा बजारको प्रत्यक्ष असर पर्ने गरेको छ । सस्तोमा पाइने कारण कैलाली, कञ्चनपुरका अधिकांश मानिस भारतीय बजार जाने गर्छन् । सीमाबाट १ सयभन्दा बढीको सामान ल्याए भन्सार लाग्ने भए पनि घर खर्चको लागि ल्याइने सामानको भन्सार शुल्क लिइँदैन । यसकारण राजश्व संकलन र स्थानीय बजार असर परेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष कुँवर बताउँछन् ।

यसलाई रोक्न सीमा नाकामा कडाइ गर्नुपर्ने उनले बताए । ‘एउटै मान्छेले घरखर्चका लागि भन्दै दिनमा दसौंपटक सामान ओसार्छ । उसलाई भन्सार लाग्दैन । व्यापारीका लागि कडा छ । यसले गर्दा मार्केटलाई असर परेको छ,’ उनले भने ।

हराउँदै तीजको मौलिकता

पहिले तीज नजिकिँदा घर–घरमा तयारी, गीत–संगीत र सामूहिक नाचगानले गाउँबस्ती गुञ्जायमान हुन्थ्यो । तर अहिले त्यो परम्परा क्रमशः हराउँदै गएको छ । अब तीजको चहलपहल घर आँगनमा नभई होटल–रेस्टुरेन्टका हलमा सरेको देखिन्छ ।

धनगढी पुष्पलाल चोककी ६० वर्षीया बेलु बैस्य तीजको मौलिकता हराउँदै गएकोमा दुःख व्यक्त गर्छिन् । भन्छिन्, ‘हाम्रो पालामा सबै दिदी–बैनी स्कुलको मैदान वा ठूलो चौरमा भेला भई नाचगान गर्थ्यौं । अहिले भने तीज मनाउन होटलमा कार्यक्रम हुन्छ । पहिलेको जस्तो रौनक हराएको छ, बरु बेथिति मात्र बढेको छ ।’ बैस्यका अनुसार पहिले तीज दिदी–बहिनीबीच भेटघाट, दुख–सुख साटासाट र आत्मीयता बाँड्ने अवसर हो । तर अहिले त्यो संस्कार पनि बदलिँदै गएको उनले बताइन् । ‘पहिला दिदी–बैनी भेट हुँदा दुख–सुखका कुरा हुन्थे । अहिले त भेटघाट हुँदा कसले कति गहना लगायो, कसले कति महँगो सारी लगायो भन्ने मात्र हुन्छ । तीजलाई देखासिकी र प्रतिस्पर्धाको पर्व बनाइयो,’ बैस्य भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस