स्वतन्त्रता दिवसमा जेलेन्स्कीको सन्देश: युक्रेन पीडित होइन, लडाकु हो

एजेन्सी । युक्रेनले आइतबार स्वतन्त्रता दिवस मनाइरहेको छ। यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूको सहयोगमा युक्रेनमा दिगो शान्ति स्थापना हुने विश्वास गरेका छन्।
जेलेन्स्कीले भनेका छन्, ‘युक्रेन पीडित होइन, बरु लडाकु हो।’ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका विभिन्न नेताहरूले युक्रेनलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।
जेलेन्स्कीले एक्समा एउटा पत्र पोस्ट गरेका छन्, जसमा ट्रम्पले युक्रेनको साहसले धेरैलाई प्रेरणा दिएको र आफू वार्ताबाट रुस-युक्रेन युद्ध समाधानको समर्थनमा रहेको बताएका छन्।
साथै जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिँदै लेखेका छन्, ‘युक्रेनको स्वतन्त्रता दिवसमा हार्दिक बधाईका लागि धन्यवाद। हामी विश्वास गर्छौं- सँगै काम गरेर हामी यो युद्ध अन्त्य गर्न सक्छौँ।’