आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्यो, बाह्य सूचकहरू पनि हालसम्मकै उच्च

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरू सकारात्मक बन्दै गएको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार गत आव २०८१/८२ मा आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो । त्यस्तै, वार्षिक औसत मुद्रास्फीति ४ दशमलव ०६ प्रतिशत थियो । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवमा सोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा थियो । त्यस्तै, आयात १३ दशमलव ३ प्रतिशतले र निर्यात ८१ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।
आव २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोडबराबर विप्रेषण भित्रिएको छ । अघिल्लो आवको तुलनामा यस आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो । गत असार महिनाको विप्रेषण आप्रवाह मात्रै १ खर्ब ८९ अर्ब ११ करोड छ ।
त्यसैगरी, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तसम्ममा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोडबराबर हो । उक्त सञ्चितिले १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचकहरू सुधार हुँदै जाँदा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेको छ ।
त्यसैगरी, आव २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो आव यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२ दशमलव ६ प्रतिशतले वृद्धि भई रू ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव ४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।