विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड, साढे १९ अर्ब डलर पुग्यो

काठमाडौं । गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको छ । गत असारसम्म यस्तो सञ्चिति ३१.२ प्रतिशत बढेर २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । गत ०८२ असार मसान्तमा २७.७ प्रतिशत वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३०.६ प्रतिशत वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३६.६ प्रतिशत बढेर दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम छ । ०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत छन् ।