उपराष्ट्रपति यादव र सुआनबीच वार्ता : एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र उनका भियतनामी समकक्षी भो थी आन्ह सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
आइतबार (भदौ ८) बिहान काठमाडौंको होटेल याक एन्ड यतीमा भएको भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले बताए । दुवै पक्षबाट मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए ।
भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका निम्ति एयर कनेक्टिभिटी, व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरिएको अधिकारीले बताए ।
भियतनामको तीव्र आर्थिक वृद्धि नेपालका निम्ति सिकाइको अवसर भएको उनले उल्लेख गरे । दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामनाका निम्ति सहकार्य गर्ने सहमति पनि भएको उनले जानकारी दिए ।
उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार (भदौ ७) काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको हो । भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।