नेपालको ‘ए’ क्रिकेट टोलीका कान्छा स्पिनर घोषणा

द एभरेष्ट पोष्ट
८ भदौ २०८२ १२:४८
नेपालको ‘ए’ क्रिकेट टोलीका कान्छा स्पिनर घोषणा

काठ्माण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालको ‘ए’ क्रिकेट टोली घोषणा गर्‍यो। भारतको आसाम स्टेट टोलीसँग पाँच खेलको टी-२० सिरिजका लागि क्यानले पछिल्लो एक वर्षपछि नयाँ ‘ए’ टोली घोषणा गरेको हो। यो टोली यसै साता भारत जाने कार्यक्रम छ।

टोलीमा रहेका सबैभन्दा कान्छा खेलाडी युवराज खत्रीले पहिलो पटक सिनियर खेलाडी सम्मिलित प्रतियोगितामा भाग लिँदैछन्।

१७ वर्षीय स्पिनर युवराजलाई नेपाली क्रिकेटको ‘भविष्य’ को रूपमा लिने गरिन्छ। युवराजले सिनियर टोलीमा पहिलोपटक स्थान बनाए पनि उनले १६ वर्षकै उमेरमा उमेर समूहका प्रतियोगितामा भने उत्कृष्ट खेल्दै सबैको ध्यान खिचेका थिए।

उनले सुदूरपश्चिमको यू-१९ टोली हुँदै नेपालको यू-१९ राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेलिसकेका छन्।

यो सिजन उनले नेपाल प्रिमियर लिग (एनपिएल) पनि खेल्दैछन्। सानै उमेरमा उनलाई भित्र्याउन ५ वटा एनपिएल टोलीले बोली लगाएका थिए।

उनी यो सिजनको अक्सनका लागि ‘बी’ श्रेणीमा थिए।

नेपालको यू-१९ टोलीबाट एसिया कप र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी सबै टोलीको नजरमा थिए।

यस्तै सिनियर टोलीका प्रशिक्षक स्टुअर्ट लको आँखामा परेका स्पिनर हुन्, युवराज।

पछिल्ला दुईवटा बन्द प्रशिक्षणमा लले उनलाई स्थान दिइसकेका छन्। अन्तिम टोलीमा नपरेका उनलाई अहिले नेपालको ‘ए’ टोलीमा स्थान दिइएको हो।

अछाम जिल्लाको चौरपाटीका युवराज सानै उमेरमा क्रिकेटप्रति मोहित थिए। घरैमा हातले बनाएको ब्याट र मोजाको बलले क्रिकेटको यात्रा सुरू गरेका युवराजलाई उनका दाइ जीवनले ८ वर्षको उमेरमा क्रिकेट सिकाउन काठमाडौं ल्याएका थिए।

काठमाडौंको एन्जल हार्ट्स एकेडेमीमा भर्ना भएर पढाइ र क्रिकेट सँगै अघि बढाएपछि उनको क्रिकेट करिअरले पनि गति लिन थालेको हो। सुरुमा काठमाडौं जिल्लाबाट क्रिकेट घरेलु खेलेका उनले पछि सुदूरपश्चिम प्रदेशबाट घरेलु उमेर समूहका क्रिकेट खेले।

त्यसपछि नेपालको उमेर समूहको टोलीमा परेका युवराजले गत वर्ष मुलपानीमा भएको यू-१९ विश्वकपमा छनोटमा उत्कृष्ट खेल देखाए। त्यतिबेला नेपाली यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचनले युवराजलाई नेपाली टोलीको ‘ट्रम्प कार्ड’ भनेका थिए।

उमेर समूहबाट सिनियर टोलीको बन्द प्रशिक्षणसम्मको यात्रा गरेका युवराजलाई एनपिएलले थप एक्सपोजर दिने  विश्वास गरिएको छ।

उनलाई भित्र्याउन सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, विराटनगर र चितवनले बोली लगाएका थिए। लक्की ‘ड्र’ मार्फत् युवराज कर्णालीमा १० लाख रूपैयाँमा आबद्ध भए।

एनपिएलअघि नेपालको ‘ए’ टोलीबाट भारत भ्रमण गर्दा उनलाई थप अनुभवी हुने मौका मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस