नाडा अटो शो २०२५: पाँच दिनमै १ लाख ४९ हजारले गरे अवलोकन

काठमाडौं : ‘नाडा अटो शो’ ले यस वर्ष ऐतिहासिक उपलब्धि हासिल गरेको छ। पाँच दिनमा १ लाख ४९ हजार ८ सय ८१ जनाले शो अवलोकन गरेका छन्। जसले आम जनताको नवप्रविधि र अटोमोबाइलप्रति चासो र उत्साह प्रष्ट गरेको छ।
शोको पाँचौं दिन नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दीप क्षेत्रीले प्रदर्शनी अवलोकन गरेका थिए।
त्यसै दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायातसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। साथै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा ‘मेड इन नेपाल’ विषयमा पनि अन्तरक्रिया कार्यक्रम भएको थियो।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले भने, ‘यस उपलब्धिले हाम्रो अपेक्षामा वृद्धि गरेको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।’