सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली सबैभन्दा कमजोर

द एभरेष्ट पोष्ट
८ भदौ २०८२ ११:२१
सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली सबैभन्दा कमजोर

कैलाली। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा सुदूरपश्चिमतर्फ कैलालीको घोडाघोडी नगरपालिका पहिलो बनेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादनको परीक्षणपछि सार्वजनिक गरेको नतिजाअनुसार घोडाघोडी नगरपालिकाले ८५.५० अंक प्राप्त गर्दै प्रदेशमै उत्कृष्ट स्थान हासिल गरेको हो।

कैलालीको घोडाघोडी पहिलो स्थानमा आउँदा बैतडीको मेलौली नगरपालिका भने पुछारमा परेको छ। मेलौलीले जम्मा ३१.२५ अंक मात्र प्राप्त गरेको छ।

यसैगरी, बाजुराको बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित दोस्रो स्थानमा आएको छ भने कञ्चनपुरको बेदकोट नगरपालिका ८३.२५ अंक पाउँदै तेस्रो स्थानमा देखिएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका ८३.२५ अंकसहित चौथो र डोटीको जोरायल गाउँपालिका ८२.२५ अंकसहित पाँचौँ स्थानमा रहेका छन्।

मन्त्रालयका अनुसार मूल्याङ्कन शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत १० वटा मुख्य सूचकका आधारमा गरिएको हो। यस मूल्याङ्कनको उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्र पहिचान गर्ने र आपसी स्वस्थ प्रतिस्पर्धा बढाउने रहेको मन्त्रालयले जनाएको छ।

जिल्लागत अवस्था

कैलाली — घोडाघोडी नगरपालिका (८५.५०) पहिलो, मोहन्याल गाउँपालिका (५५.५०) अन्तिम।

कञ्चनपुर — बेदकोट नगरपालिका (८३.२५) पहिलो, दोधारा चाँदनी नगरपालिका (७१.५०) अन्तिम।

बाजुरा — बुढीगंगा नगरपालिका (८४.२५) पहिलो, बुढीनन्दा नगरपालिका (६१.७५) अन्तिम।

बैतडी — पुर्चौंडी नगरपालिका (७७.२५) पहिलो, मेलौली नगरपालिका (३१.२५) अन्तिम।

अछाम — पंचदेवल विनायक नगरपालिका (७७.५०) पहिलो, ढकारी गाउँपालिका (४३.७५) अन्तिम।

डडेल्धुरा — अजयमेरु गाउँपालिका (८३.२५) पहिलो, नवदुर्गा गाउँपालिका (७३.२५) अन्तिम।

डोटी — जोरायल गाउँपालिका (८२.२५) पहिलो, पूर्विचौकी गाउँपालिका (५८.७५) अन्तिम।

दार्चुला — शैल्यशिखर नगरपालिका (८१) पहिलो, लेकम गाउँपालिका (६१.७५) अन्तिम।

बझाङ — केदारस्युँ गाउँपालिका (७९.७५) पहिलो, सुर्मा गाउँपालिका (६२) अन्तिम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस