कानुन नै चोरी हुने संसद्मा बेकार आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए ।
‘म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला,’ शर्माले आफ्नो दिग्दारी सुनाए ।
संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै उनले दु:खेसो गरे । आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको पनि उनले टिप्पणी गरे ।
‘संविधानमा उपलब्ध प्रगति त गर्यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं,’ शर्माले भने, ‘यो मैले गरेको प्रश्न म आफैंलाई हो । तर मैले आफैंलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैंलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ ।’
देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको शर्माको भनाइ छ ।