सर्वोच्चको परमादेशको विरुद्धमा छैनौँ, भ्रामक समाचार आयो : जसपा नेपाल

द एभरेष्ट पोष्ट
४ भदौ २०८२ १३:०९
सर्वोच्चको परमादेशको विरुद्धमा छैनौँ, भ्रामक समाचार आयो : जसपा नेपाल

काठमाडौं ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले ‘गौर हत्याकाण्ड’को विषयमा सर्वोच्च अदालतद्वारा जारी परमादेशको विरुद्धमा नरहेको स्पष्ट पारेको छ । जसपा नेपालका प्रवक्ता मनिस कुमार सुमनले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट जारी भएको परमादेशको विपक्षमा नरहेको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमार्फत सञ्चारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाए ।

“सम्मानित सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ पा संक्षिप्त आदेश नै नआउँदै सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको यो राजनैतिक दल तथा यसका अध्यक्षलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्वाग्रही, भ्रामक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको हुँदा त्यसकार्यप्रति भर्त्सना समेत गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

विसं २०६३ सालको दुःखद् घटनाकाबारे तत्कालीन सरकारले नै उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्यतथ्य अभिलेखीकरण गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक निकायका रूपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) समेतले तत्कालकै अवस्थामा घटना बारदातको सम्बन्धमा स्वतन्त्र अनुसन्धान गरी सत्यतथ्यसहितको प्रतिवेदन समेत सार्वजनिक गरिसकेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

सुमनले विज्ञप्तिमा सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेश अनुसार पुनः निष्पक्ष विश्वसनीय एवं वस्तुपरक रूपमा अनुसन्धान हुने भए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

अध्यक्ष यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने र मधेस आन्दोलनलाई कमजोर पार्ने क्रियाकलाप भइरहेको जसपा नेपालले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस