उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् ।
सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।
रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले अनलाइनखबरसँग भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।’
उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताए ।
‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले अनलाइनखबरसँग भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएको बेला नै हस्ताक्षर जुटाइदिनु भनेको कति सुसंस्कृत कुरा हो ?’ ।
उपसभामुख रानामगर हाल अमेरिकामा छन् ।
शर्माले पार्टीले संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको बताए ।
‘भैरहवामा पार्टीको काममा व्यस्त छु । मेरो चाहिँ हस्ताक्षर पनि छैन । काठमाडौँ फर्किसकेपछि यो बेठीक भएको छ भनेर छलफलमा पनि राख्नेछु ।’