राष्ट्रिय सभामा नागरिकता र राष्ट्रिय निकुञ्जसम्बन्धी दुई प्रतिवेदन पेश

द एभरेष्ट पोष्ट
३ भदौ २०८२ १६:२२
राष्ट्रिय सभामा नागरिकता र राष्ट्रिय निकुञ्जसम्बन्धी दुई प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा दुईवटा संसदीय समितिका प्रतिवेदन पेस गरिएको छ। बैठकमा ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेस गर्दै विधेयकका कुल आठ दफामध्ये छ दफामा संशोधन गरिएको जानकारी दिइन्। यस विधेयकमा ३६ सांसदले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। विधेयकको मुख्य उद्देश्य संविधानअनुसार बाबुको पहिचान नभएका व्यक्तिलाई आमाको नामबाट नागरिकता प्रदान गर्नु रहेको दाहालले बताए। साथै, यसमा आमा र बाबुमध्ये कुनै एकको विवरण उल्लेख गर्न नचाहने व्यक्तिलाई सो विवरण नराखी नागरिकता प्रदान गर्ने प्रावधान पनि छ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरे। उनले यो प्रतिवेदनले विकास र संरक्षणबीचको फरक धारणालाई कम गरी संरक्षणसहितको विकास अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस