गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट

काठ्माण्डौँ । बेरुजु फर्छ्योट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वको पहिलो वर्षमा आर्थिक वर्ष २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्योट गरेको छ ।
अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कूल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्योट बाँकी रहेको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन, गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्योट प्रगति ६३.१७ प्रतिशत रहेको छ । ‘चालु आर्थिक वर्षमा अब १ अर्ब ४७ करोड ४५ लाख मात्रै कूल बेरुजु बाँकी छ’, आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने, ‘कार्ययोजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्योटमा लागेको छ ।’
उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए ।
‘आर्थिक वर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो’, अधिकारीले भने, ‘अहिले शून्य प्रतिशतमा झरेको छ ।’
मन्त्रालयले बेरुजु फर्छ्योट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत वर्षको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्ययोजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ ।
त्यसका साथै मन्त्रालयले असुलउपर र पेस्की बेरुजुका सम्बन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्योट, सम्परीक्षण र वित्तीय सुशासन सम्बन्धी काम गर्दै आएको छ ।