नाडा अटो शो : नेपालमा पहिलोपटक फ्लाइङ ट्याक्सीको अनावरण

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औँ नाडा अटो शोको आज उद्घाटन गरेका छन् ।
मंगलबार काठ्माण्डौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ–नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
उनले नयाँ ढंगले काम गर्ने युवालाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।
‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरणसमेत गरे । शोको मुख्य आकर्षणको रूपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताको ठूलो भिड लागेको थियो । नेपालमा पहिलोपटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबर्ट्स भित्रिएको हो ।
नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छ । नाडाका अनुसार भविष्यमा यससम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारिक रूपमा सञ्चालन गर्न सकिने बताइएको छ ।
चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।