उपसभामुख रानामाथिको आरोप : अमेरिकी दूतावासलाई अढाई वर्षअघि पठाएको पत्र

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे मंगलबार सत्तारुढ प्रमुख दल कांग्रेस र एमालेले तयारी गरेका छन् । पदबाट हटाउने तयारीको पछाडि इन्दिरा रानासँग दुई वर्षअघि जोडिएको विवाद मुख्य कारण हो ।
प्रतिनिधिसभाकी उपसभामुख रानामाथि लगाइएको आरोपको सन्दर्भ बुझ्न १४ फागुन २०७९ तिर फर्किनु पर्छ ।
७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी उनी एक महिनापछि संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको सातौं सम्मेलनमा (सीएसडब्लू ६७) मा सहभागी हुन अमेरिका गएकी थिइन् ।
त्यो कार्यक्रममा जानुअघि उनले आफूसँगै जाने भन्दै अरु ५ जना व्यक्तिलाई अमेरिकाको भिसा अन्तर्वार्ताको मिति मिलाइदिन सिफारिस गर्दै पत्र लेखेकी थिइन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलरलाई सम्बोधन गर्दै लेखिएको पत्रमा उनले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई अन्तरर्वार्ताको मिति मिलाइदिन भनेकी छन् ।
सीएसडब्लू ६७ नाम दिइएको यो सम्मेलन अमेरिकाको न्यूयोर्कमा २२ फागुनदेखि ३ चैत २०७९ सम्म आयोजना भएको थियो ।
अमेरिकी दूतावासमा भिसा अन्तरर्वार्ता दिनेको संख्या धेरै हुने भएकाले कम्तिमा ५÷६ महिना अघिबाटै सर्वसाधारणले अनलाइनमार्फत मिति बुक गर्ने गर्छन् ।
विशिष्ट व्यक्तिहरूका लागि भने परराष्ट्र मन्त्रालयले समन्वय गर्ने गर्छ । अझ संसद् पदाधिकारी, सांसद् र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत अघि बढाउने व्यवस्था छ ।
तर, उपसभामुख रानाले स्ट्याम्पसहितको आफ्नै लेटरप्याडमा आफूसँगै जाने भन्दै अरु ५ जनाको अन्तरर्वार्ता मिति सारिदिन आग्रह गरेको भेटिएको थियो ।
पत्रमा उनीहरू उनको सचिवालयमा कार्यरत् हुन् या होइनन् भन्ने केही खुलाइएको थिएन । उनीहरूको पृष्ठभूमिबारे समेत खुलाइएको थिएन ।
जानकार स्रोतका अनुसार, काठमाडौंस्थित अमेरिकी दूतावासले ती व्यक्तिहरूलाई अमेरिका जाने कारण विश्वसनीय नभएको भन्दै भिसा चाहिँ दिएको थिएन ।
पछि विदेश जान नपाएकाहरू रास्वपामा समेत पुगेका थिए । त्यसबेला संगठन विभाग प्रमुख शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलाई यसबारे जानकारी गराएका थिए ।
त्यसपछि उपसभामुख रानाले रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भनेअनुसार पत्र लेखेको बताएकी थिइन् । त्यही बेला राहदानी नम्बरका आधारमा अध्यागमन विभागमा समेत जाँच गर्दा उनीहरू अमेरिका नगएको खुलेको थियो ।
पछि आन्तरिक छानबिनका क्रममा गौतमले नै अरु व्यक्तिहरूको नाम समेत ल्याएर अमेरिका जान सिफारिस गर्न लगाएको भेटिएको थियो ।
त्यसरी सिफारिस गरिएकामध्ये लामा चाहिँ घरजग्गा कारोबारी भएको खुलेको थियो भने सुष्मा धरानमा कार्यरत् रेडियोलोजिस्ट भएको खुलेको थियो । धनप्रसाद गुरुङ यातायात मजदुर थिए भने सुजन सल्यानका पूर्वशिक्षक भएको खुलेको थियो ।
त्यो पत्र लेखिएको विषय रास्वपा नेताहरूले थाहा पाउँदा सभापति रवि लामिछाने नै गृहमन्त्री थिए । त्यही बेलाउ उनले अध्यागमन विभागसँग ती व्यक्तिहरू अमेरिका गए/नगएको बारे सोधपुछ गरेका थिए । तर, उनीहरूलाई अमेरिकाले भिसा दिएकै पाइएन । यसपछि यो विषय यत्तिकै सामसुम भएको थियो ।
तर, काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र लेखेको डेढ वर्षपछि २०८१ असार अन्तिमतिर एकएक त्यो पत्र सार्वजनिक भयो । त्यसपछि सभामुख देवराज घिमिरेले समेत यसबारे चासो राखेका थिए, शीर्ष नेताहरूबीच समेत छलफल भएको थियो ।