नेपालले होबर्ट हरिकन्सलाई दियो १८१ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
३ भदौ २०८२ १३:१८
नेपालले होबर्ट हरिकन्सलाई दियो १८१ रनको लक्ष्य

काठ्माण्डौँ- अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाली टोलीले मंगलबार होबर्ट हरिकन्स एकेडेमीलाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८० रन बनाएको हो । जारी शृंखलामा नेपाली टोलीले बनाएको यो नै सर्वाधिक रन पनि हो ।

 

नेपाली टोलीले पालीको गतिलो शुरूआत गरेको थियो । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ४९ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ रन बनाए । उनले २० बलको सामना गरी चार चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा २९ रन थपे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि १८ बलमा दुई चौकाको मद्दतले १८ रन बटुले ।

कप्तान रोहित पौडेल भने नौ रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीको खातामा ३३ रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २६ बलमा तीन चौका पनि हिर्काए ।

कुशल मल्ल भने ६ रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आउट भएपछि क्रिज समाल्न आएका लोकेश बमले टोलीका लागि आक्रमक पाली खेले । उनले केवल ११ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित २५ रनको योगदान गरे । करण केसी एक रन बनाउँदै आउट भए । नन्दन यादव एक रनमा अविजित रहे । नेपाली टोलीले अतिरिक्त रूपमा पनि ३१ रन पायो ।

होबर्ट हरिकन्स एकेडेमीका बलर निवेथन राधाकृष्णनले दुई विकेट लिए । रफ म्याकमिलनले पनि दुई विकेट हात पारे । मार्कस बिन, ब्राड्ली होप र गेब बेलले पनि एक–एक विकेट हात पारे । मार्कस बिन महंगो सावित भए । उनले चार ओभरमा ४३ रन खर्चिएका थिए ।

जारी प्रतियोगितामा नेपालले हालसम्म एक खेल पनि जित्न सकेको छैन । नेपाली टोलीले लगातार तीन हार भोगिसकेको छ । तीनवटै खेलमा नेपाली टोलीको ब्याटिङमा समस्या देखिएको छ । त्यसैले मंगलबारको खेलमा नेपाली टोली पहिलो जितको खोजिमा छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस