इजरायलमा युद्धविराम र बन्धक मुक्तिको माग गर्दै हड्ताल

एजेन्सी- गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् । हड्तालका कारण यातायात अवरुद्ध भए भने र धेरै व्यवसाय तथा कार्यालयहरू पनि बन्द भए ।
यस हड्तालले केही हप्ताअघि लडाकूहरूले बन्धकहरूको भिडियो सार्वजनिक गरेको र इजरायलले नयाँ आक्रमणको सङ्केत दिएको परिस्थितिलाई झन् तताएको छ ।
प्रदर्शनकारीहरूले गाजामा रहेका ५० जना बन्धक थप युद्धका कारण जोखिममा पर्नसक्ने बताएका छन् । अनुमानअनुसार तिनीहरूमध्ये करिब २० जना मात्र जीवित छन् ।
‘हामी बन्धकहरूको शवमाथि युद्ध जित्न सक्दैनौँ,’ भन्ने नारा लगाउँदै उनीहरूले सम्झौताको माग गरेका छन् । बन्धक तथा बेपत्ता परिवार फोरमद्वारा आयोजित कार्यक्रममा सहभागी आमा अनात एङ्ग्रेस्टले भने, ‘आज हामी सबै कुरा रोक्छौँ—दायाँ, बायाँ वा केन्द्र जहाँसुकै भए पनि—जीवनको मूल्य सम्झन र बन्धकहरूलाई फर्काउन ।’
हालैको कदमले सरकारलाई दबाबमा पारे पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अति–दक्षिणपन्थी सहकर्मीहरूको विरोधसँगै संवेदनशील सन्तुलनमा छन् । उनका कट्टर सहयोगीहरूले हमासलाई सत्तामा रहन दिने कुनै पनि सम्झौताको समर्थन नगर्ने चेतावनी दिएका छन् ।
यसबीच, अर्थमन्त्री बेजलेल स्मोट्रिचले हड्ताललाई ‘हानिकारक अभियान’ भन्दै आलोचना गरेका छन् । उनका अनुसार, यसले हमासलाई फाइदा पुर्याउनेछ र इजरायललाई आफ्ना शत्रुहरूसमक्ष कमजोर बनाउनेछ ।