प्रचण्डमा छटपटी छ, रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल

कैलाली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको दाबी गरेका छन् ।
आइतबार कञ्चनपुरमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस-एमालेबीच नजिकता बढेपछि प्रचण्ड छटपटी रहेको बताए ।समृद्धि र विकास यहीँ सरकारबाट आउने उनको दाबी थियो । एमाले माथी घेराबन्दी बढिरहेको भन्दै उनले भने, ‘एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको छ। तर, हामी मिसन–८४ लाई सफल बनाउन दृढ छौँ र एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा जुटेका छौँ।’
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताको निराशा, कुष्ठा र पपुलिज्मबाट जन्मिएको पार्टी भएको बताएका थिए ।
‘अहिले उनीहरू एमालेविरुद्ध खनिएका छन्। तर अराजकता र पपुलिज्मको आयु लामो हुँदैन। आफूले गरेको बदमासीलाई सरकारले प्रतिशोध गरेको भन्दै प्रचार गर्नु भ्रामक हो’, उनले भने ।
उनले पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा ल्याउन खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको दाबी गर्दै माओवादी केन्द्रले गम्भीर गल्ती गरेको टिप्पणी गरे ।
‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपति बनेको व्यक्ति सबैको साझा व्यक्तित्व हुनुपर्छ। त्यसैले यस्तो पदमा पुगेकाले राजनीतिमा फर्किनु उपयुक्त हुँदैन भन्ने निष्कर्ष एमालेले निकालेको हो। यो निर्णय विद्यादेवी भण्डारीका लागि मात्र नभई भविष्यका लागि पनि हो’, पोखरेलले स्पष्ट पारे।
महासचिव पोखरेलले अध्यक्षको दुई वर्षे कार्यकाल हटाउने विषयलाई दशौँ राष्ट्रिय महाधिवेशनकै पहिलो एजेन्डा बनाएर निर्णय गरिएको जानकारी दिए । भीम रावलले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै उनले पार्टी छाड्नुपर्ने अवस्था आएको बताए ।
‘विद्रोही प्रवृत्ति र अराजकता पार्टी निर्माणका लागि बाधक हुन् । मुलधारका दलमा ‘पार्टीलाई म देखाउँछु’ भन्ने प्रवृत्ति कार्यकर्ताले स्वीकार गर्दैनन् । पार्टीको विधि र अनुशासन पालना गर्नैपर्छ’, उनले भने ।
उनले समाजवादविरुद्ध विभिन्न चुनौती आइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न एमाले सक्षम रहेको दाबी गरे ।
‘जनताको युगलाई चुनौती दिइरहेकाले त्यसविरुद्ध एमालेले दृढताका साथ प्रतिवाद गर्नेछ’, उनले कार्यकर्तालाई निर्देशन दिए ।