राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव बीच शिष्टाचार भेट

द एभरेष्ट पोष्ट
१ भदौ २०८२ १५:०५
राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव बीच शिष्टाचार भेट

काठमाडौँ– भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर मिस्रीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। विदेश सचिव मिस्री औपचारिक भ्रमणका सिलसिलामा आइतबार काठमाडौँ आएका हुन्। भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए। ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक,आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ,’ राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने। नेपाल र भारतबीच शताब्दिऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको बताउँदै उनले दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उल्लेख गरे। ‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’ को नेपाल सराहना गर्दछ,’ पौडेलले भने। सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल उच्च स्थानमा रहेको बताएका थिए। साथै, विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस