अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा शिखर वार्ता सुरु

एंकोरेज, अलास्का, १५ अगस्त ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर वार्ता आज अमेरिकाको अलास्का राज्यको एंकोरेज शहरमा सुरु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याईएको थियो । बिमानस्थलमा दुबै जनाले एक अर्कासंग हात मिलाएर अभिवादन गरे ।
बैठक सुरु हुनु अघि नै पत्रकारहरूले रूसी राष्ट्रपति पुटिनलाई एक साथ थुप्रै प्रश्नहरु गरे । प्रश्नको जवाफ दिन अलमलिएका पुटिन प्रश्नहरुबाट चिढिएका देखिन्थे ।
पत्रकारहरुले रूसी राष्ट्रपति पुटिनलाई के तपाईं युद्धविराममा सहमत हुनुहुन्छ ?, के तपाईं सर्वसाधारणको हत्या नगर्ने प्रतिबद्धता जनाउनुहुन्छ ?,
राष्ट्रपति ट्रम्पले किन तपाईंको कुरामा अब विश्वास गर्नुपर्छ ? लगायतका प्रश्नहरु गरेका थिए ।
पुटिन पत्रकारले सोधेका कुनै प्रश्नको जवाफ दिएनन् । उनले पत्रकारहरूको दिशामा केही चिच्याउँदै बोलेको देखिए पनि त्यसको आशय अस्पष्ट रह्यो। उनको हाउभाउ अलमलिएकोजस्तो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बैठक सुरु हुनुअघि पुटिनको अनुहारमा देखा परेको चिन्ता र अलमलिएको हाउभाउ अहिले सामाजिक सञ्जालमा भाइरल बन्दैछ। उनी पत्रकारहरूको सवालपछि केही छक्क परेका देखिए। ट्रम्प भने बैठकमा आत्मविश्वासी मुद्रामा उपस्थित देखिएका छन्।
अलास्कामा भइरहेको ट्रम्प–पुटिन शिखर वार्ता यूक्रेन युद्धको भविष्यका लागि निर्णायक मोड सावित हुन सक्छ। अहिलेसम्म प्रत्यक्ष सहमतिको संकेत आएको छैन, तर वार्ता अझै जारी छ। अबको केही घण्टा विश्व राजनीति र यूक्रेनी जनताको भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ।
युक्रेन र रुसबीच तीन वर्षदेखि युद्ध अन्त्यका लागि शुरु भएको अलास्का शिखर सम्मेलनमा ट्रम्पले पुटिनसँग कडा रूपमा युद्धविरामको विषय उठाउने अनुमान गरिएको छ ।
यदि पुटिनले युद्धविराममा सहमति जनाएमा यूक्रेन–रूस–अमेरिकाबीच त्रिपक्षीय शिखर बैठकको तयारी हुनेछ ।
युद्धविराम पश्चात शान्तिवार्ताको औपचारिक प्रक्रिया थालनी हुनेछ । यूरोप र अमेरिका मिलेर रूसमाथिको प्रतिबन्ध सम्बन्धी रणनीति पुनः मूल्यांकन गर्न सक्छन्
तर, यदि पुटिनले युद्धबिराममा सहमति नजनाए पश्चिमी राष्ट्रहरूले थप प्रतिबन्ध, सैन्य सहायता, र कूटनीतिक दबाब बढाउने सम्भावना उच्च देखिन्छ।
यूक्रेनको स्पष्ट सन्देश : पहिले युद्धविराम, अनि मात्र वार्ता
शिखर वार्तासँगै, यूक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले बर्लिनमा आयोजित एक संयुक्त पत्रकार सम्मेलनमा स्पष्ट रुपमा भने, यूक्रेनको पहिलो र प्रमुख माग युद्धविराम हो।
उनले जोड दिँदै भने, युद्ध रोकिएन भने कुनै पनि शान्तिवार्ता सम्भव छैन। उनका अनुसार, अमेरिका र युरोपेली नेताहरूबीच बुधवार भएको कुराकानीमा राष्ट्रपति ट्रम्पले पुटिनमाथि युद्धविरामका लागि दबाब दिने प्रतिबद्धता जनाएका थिए।
जेलेंस्कीले थप भने, यूक्रेनसँग सम्बन्धित सबै विषयहरूमा छलफल यूक्रेनको सहभागिता बिना सम्भव छैन। अबको तयारी त्रिपक्षीय वार्ताको हो – अमेरिका, रूस र यूक्रेन।