भूमि आयोगले माग्यो सुकुम्वासी जग्गासम्बन्धी निवेदन

द एभरेष्ट पोष्ट
३१ साउन २०८२ १३:४१
भूमि आयोगले माग्यो सुकुम्वासी जग्गासम्बन्धी निवेदन

काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा विगतका आयोगहरूबाट थाती रहेका कामहरूका लागि निवेदन दिन ३५ दिने अन्तिम म्याद तोकेको छ ।

आयोगले आज एकै दिन दुई वटा छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै जग्गा प्राप्तिका लागि र पुराना समस्या समाधानका लागि निवेदन आह्वान गरेको हो । दुवै प्रकृतिका निवेदनहरू आज अर्थात् २०८१ साउन ३० गतेदेखि ३५ दिनभित्र सम्बन्धित निकायमा बुझाउनुपर्नेछ।

भूमिहीन र अव्यवस्थित बसोबासीका लागि नयाँ निवेदन

आयोगले जारी गरेको सूचना अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको छ ।

यसका लागि आयोगले तोकेको ढाँचामा निवेदन फाराम भरी स्थानीय तहबाट वडाले तोकेका स्थानहरूमा खटिएका लागत सङ्कलकमार्फत ३५ दिनभित्र आवेदन पेस गर्न भनिएको छ । कार्य सहमतिपत्र अनुसार सम्झौता भइसकेका सम्पूर्ण स्थानीय तहका लक्षित नागरिकले यो अवसर उपयोग गर्न सक्नेछन् ।

विगतका आयोगका बाँकी काम टुङ्ग्याउन अर्को सूचना

त्यसैगरी आयोगले अर्को सूचनामार्फत २०७७ साल वैशाख १ गतेभन्दा अगाडि प्रचलित कानुनबमोजिम गठन भएका विभिन्न आयोग, समिति र कार्यदलले वितरण गरेका जग्गाहरूको स्वामित्व, दर्ता स्रेस्ता वा नक्सा प्रमाणीकरणजस्ता विषयमा समस्या भएमा त्यसलाई समाधान गर्न निवेदन आह्वान गरेको छ ।

विगतका निकायहरूबाट काम सम्पन्न हुन नसकेका र अधुरा रहेका फाइलहरूका सम्बन्धमा आवश्यक प्रमाण कागजातसहित निवेदन दिन आग्रह गरिएको हो ।

यस्तो निवेदन ‘विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि, २०८१’ को अनुसूची २ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लास्थित आयोगको सचिवालयमा ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस