बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटले लिएका उदेश्य पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन्।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायतका लक्ष्य पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिएका हुन्।
औषत प्रयासले लक्ष्य पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए। उनले समस्यमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे।
निजी क्षेत्रको मनोबल बढाउनल अध्यादेश, नीति तथा कार्यक्रमहरुले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचक ठीक भए पनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चत क्षेत्रमा सरकारले नै ‘विग पुस’ गर्नुपर्नेमा जोड दिए।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरु आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनु पर्ने बताए।
राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरु कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरु पूरा हुन सक्ने बताए। उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औंल्याए।
अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए।
बैठकका सहभागीले कार्यक्रम कार्यान्वनयका क्रममा देखा पर्ने समस्या र चुनौतीलाई तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए।