प्रधानन्यायाधीशद्वारा इजलासमै पत्रकारलाई छुट्टै स्थान दिने घोषणा

द एभरेष्ट पोष्ट
३१ साउन २०८२ ११:३४
प्रधानन्यायाधीशद्वारा इजलासमै पत्रकारलाई छुट्टै स्थान दिने घोषणा

काठ्माण्डौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पत्रकारहरूका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताएका छन्। उनले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको गुनासोलाई गम्भीरतापूर्वक लिएको जनाए।

सर्वोच्च अदालतमा मुद्दाको अवस्था र प्राथमिकताका क्षेत्रबारे सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले इजलासको बाहिर छुट्टै स्थान व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सूचना प्रवाहमा सहजता ल्याउन आफूहरू प्रयासरत रहेको पनि बताए।

प्रधानन्यायाधीश राउतले न्यायालयको आलोचना हुनु स्वाभाविक भए पनि गलत तथ्य उजागर गरेर अदालतको मर्यादामाथि आँच पुर्‍याउने काम नगर्न चेतावनी दिए। उनले अदालतमा मानिसको भरोसा डगमगाएको भए लाखौँ मुद्दा दर्ता नहुने भन्दै न्यायालयमाथि विश्वास अझै कायम रहेको स्पष्ट पारे।

आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले भने, “समाचार सनसनीपूर्ण बनाउने मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरू प्रकाशन भए अदालत टुलुटुलु हेरेर बस्दैन।” उनले न्यायालयले आफ्नो मर्यादा र संयमता नगुमाउने बताउँदै न्यायिक नेतृत्व पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सचेत र संवेदनशील रहेको पनि जानकारी दिए।

उनले न्यायालयलाई भरोसा र विश्वासको केन्द्र बनाउन आफूहरू लागिपरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस