रसुवामा बस दुर्घटना: २१ जना घाइते, ४ गम्भीर

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका-५, लहरेपौवामा बिहीबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। पासाङल्हामु राजमार्गमा अटोलाई साइड दिने क्रममा बस अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्मका अनुसार, गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २:१५ बजे दुर्घटनामा परेको हो।
धुन्चे-त्रिशुली सडकखण्डमा विपरीत दिशाबाट आएको अटोलाई ठाउँ दिने प्रयास गर्दा बस सडकबाट तल खस्न पुगेको थियो। बस घटनास्थलमै कुच्चिएको र झ्यालका सिसाहरू फुटेर क्षतविक्षत अवस्थामा रहेको छ।
दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीहरू उद्धार कार्यमा खटिएका थिए। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशुली अस्पताल, नुवाकोट पठाइएको छ।
गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंको ग्रीन सिटी अस्पतालमा रिफर गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
गम्भीर घाइते हुनेहरूमा रसुवा आमाछोदिङ्मोकी २० वर्षीया प्रिस्किला तामाङ, ५१ वर्षीया दावा साङ्मो तामाङ, २८ वर्षीया सुनिता तामाङ र नुवाकोट किस्पाङका ५४ वर्षीय बुद्दि वि.क. रहेका छन्।
एक २ महिने शिशुलाई पनि मध्यम चोट लागेको र थप उपचारका लागि काठमाडौं पठाइएको छ।
बसका चालक नुवाकोटका २७ वर्षीय गणेश सुनार र सहचालक २१ वर्षीय राजकुमार सेन्चुरी पनि मध्यम घाइते भएका छन्। अन्य घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको र उनीहरूको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ।