ओलीको हावादारी गफले देश बर्बाद भयोः दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्।
संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको बताए। प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ।
आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको र आफूले सदनमा बोलेकोभन्दा फरक नरहेको बताए।
उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ। टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ। उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ। त्यो बेठिक छ।’
टियुलाई मात्रै इस्यु बनाएर प्रधानमन्त्री आफूमाथि उत्रिएको बताए।