जसपा र राष्ट्रिय मुक्ति पार्टीले गरे कार्यगत एकता घोषणा

द एभरेष्ट पोष्ट
३० साउन २०८२ १६:५५
जसपा र राष्ट्रिय मुक्ति पार्टीले गरे कार्यगत एकता घोषणा

काठमाडौं ।  जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन्। उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको हो।

‘देशलाई अग्रगामी निकास दिन पहिचानसहितको संघीयता र समाजवाद पक्षधर शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यकता छ भन्ने कुरा हृदयङ्गम गर्दै, संविधानको अग्रगामी संशोधन, परिमार्जन र विकास गर्ने उद्देश्यले जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल निम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुख कार्यगत एकता गर्न सहमत भएका छौं,’ कार्यगत एकताको सहमति पत्रमा उल्लेख छ।

दुई दलबीचको कार्यगत एकताको संरचना तीन तहकै हुने सहमति पत्रमा उल्लेख छ।

केन्द्रीय तह, प्रादेशिक तह, स्थानीय तहमा कार्यगत एकता हुनेछ। केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने र यस समितिमा पार्टीका अध्यक्षहरूसहित दुवै पार्टीबाट ७/७ जना रहने छन्। समितिमा कम्तीमा २ जना महिला हुनुपर्ने व्यवस्था राखिएको छ।

आपसी समन्वय र कार्यसञ्चालनको लागि सचिवालय बनाउन सकिने प्रावधान राखिएको छ।

प्रादेशिक तहमा प्रदेश संयोजन समिति रहने र यस समितिमा प्रदेशका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ५/५ जना रहने उल्लेख छ।

स्थानीय तहमा हाललाई जिल्ला संयोजन समिति रहने र यस समितिमा जिल्ला अध्यक्षसहित ३/३ जना रहने दुवै पार्टीले बताएका छन्।

पार्टीका जनवर्गीय/भ्रातृ सङ्गठनहरूबीच पनि आवश्यकतानुसार संयुक्त संरचना निर्माण गर्न सकिने उल्लेख छ।

कार्यगत एकतामा संलग्न पार्टीहरूले बैठकको अध्यक्षता आलोपालो गर्ने र सबै तहको संयोजन समितिको बैठक, कार्यसूचीहरूको निर्धारण आपसी सहमतिको आधारमा हुने तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस