युवा अभियन्ता करिया प्रधानलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड

धनगढी, २९साउन ।
कैलालीका युवा अभियन्ता ठाकुर प्रसाद चौधरी (करियाप्रधान) अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।
मानव अधिकार अभियानका लागि युवा नेपालद्धारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित आप्रवासी कामदारको मानवअधिकार विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा चौधरी सहित दुई नेपाली र १ बंगलादेशी युवा अभियन्तालाई सो अवार्ड प्रदान गरिएको हो ।
मानवअधिकारको रक्षा र प्रवद्र्धनको क्षेत्रमा खेलेको असाधारण र उच्च योगदानको कदर गर्दै सो संस्थाले इजरायली राजदूत स्मुलिक अरी वासमार्फत उनलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड प्रदान गरेको हो ।
हाल धनगढी उपमहानगरपालिका- १ शिवनगर बस्दै आएका करिया प्रधान कैलालीको घोडाघोडी नगरपालिका -१० थेवैका स्थायी वासिन्दा हुन् । उनी सन २०१० देखि युवा सशक्तिकरणको क्षेत्र क्रियाशिल छन् ।
युवाहरुको हकहीत र अधिकारका लागि वकालत गर्दै आएका करियाप्रधानले स्थानीय सरकारको क्षमता अभिबृद्धिका लागि सञ्चालित सुशासन परियोजनाको समेत नेतृत्व गरेका थिए ।
युवा अभियान, थारु विद्यार्थी समाज, आदिवासी जनजाति विद्यार्थी महासंघको विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका ठाकुरले बातचित घर मार्फत समाज रुपान्तरणका लागि सकारात्मक बहस सञ्चालन गर्दै आएका छन् ।
उनी ग्राम विकास तथा अनुसन्धान केन्द्र (आरडीआसी) कैलालीको सुशासन परियोजनाका जिल्ला संयोजक पनि हुन् ।