एनआरएनएमा परिवर्तनका लागि युवाको नेतृत्व आवश्यक – अवस्थी

न्यूयोर्क, १३ जुलाई ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा सुदूरपश्चिमका सुरेन्द्र अवस्थीले उम्मेदवारी दिएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटा स्थायी घर भएका अवस्थी सन २०१७ देखि अमेरिकामा अष्टिनमा बसोबास गर्दै आएका छन् ।
व्यवसायसंगै सामाजिक कार्यमा संलग्न अवस्थीले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा भानु खरेलको टीमबाट बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएका छन् ।
जुनियर रेडक्रस सर्कलमा आवद्ध भएर माध्यमिक तहदेखि नै सामाजिक कार्यमा सक्रिय भएका अवस्थी सोही बेलादेखि वीपीको आदर्श र सिद्धान्तबाट प्रभावित भएर नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न भए ।
नेविसंघको कञ्चनपुर जिल्ला सदस्य हुदै केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका अवस्थीले स्नातकोत्तर अध्ययनका क्रममा नेपाल कमर्स क्याम्पस मीन भवनमा नेबिसंघ सुदूर पश्चिम सम्पर्क मञ्चको अध्यक्षको भूमिका निर्वाह गरे ।
व्यवस्था परिवतर्नका लागि मुलुकमा भएका हरेक आन्दोलन युवाहरुको सहभागिताले सफल भएपनि उनीहरुलाई सधै जिम्मेवारीबाट बञ्चित गर्ने गरिएको अवस्थीको गुनासो छ ।
उनी युवाहरुको नेतृत्वबाट मात्र समाज र देशको रुपान्तरण संभव देख्छन् । एनआरएनएमा मेरो उम्मेदवारी युवाहरुको भावना, बिचार र मुद्दाको उम्मेदवारी हो, अवस्थी भन्छन्, युवाहरुको सहभागिताबाट एनआरएनएमा परिवर्तन संभव छ । एनआरएनएमा परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।
उनी एनआरएनएमा परिवर्तनका लागि आफूलाई मतदान गरेर बिजयी गराउन सम्पूर्ण मतदाताहरुसंग आग्रह गर्छन् ।
महेन्द्रनगरको उदयदेव माविबाट एसईई, बालजागृती बहुमुखी क्याम्पसबाट स्नातकको पढाई पुरा गरेका अवस्थीले नेपाल कमर्स क्याम्पस मीन भवनबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
नेपालमा मानवअधिकारका क्षेत्रमा समेत सक्रिय रहेका अवस्थीसंग कोक्यापको सुदूर पश्चिम प्रदेश समिति सदस्यका रुपमा काम गरेको अनुभव पनि छ ।
सुदूर पश्चिम नेपाली समाजको टेक्सासको दुई कार्यकाल बोर्ड सदस्य रहेका अवस्थी अष्टिनमा व्यवसायसंगै, सामाजिक र धार्मिक कार्यमा सक्रिय छन् ।
अवस्थी सुदूरपश्चिम विश्व हिन्दु युवा संघको अमेरिकाको जनसम्पर्कको अध्यक्ष समेत हुन् ।