लोक सेवा आयोगबाट लिइने परीक्षाको प्रयोगात्मक र सीप परीक्षणको नयाँ मापदण्ड जारी

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १३:५९
लोक सेवा आयोगबाट लिइने परीक्षाको प्रयोगात्मक र सीप परीक्षणको नयाँ मापदण्ड जारी

काठमाडौं । लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदको प्रयोगात्मक तथा सीप परीक्षणलाई थप वैज्ञानिक, वस्तुनिष्ठ र पारदर्शी बनाउन नयाँ र विस्तृत मापदण्ड लागू गरेको छ । आयोगले ‘लोक सेवा आयोगबाट सञ्चालन हुने प्रयोगात्मक तथा सीप परीक्षण परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८२’ स्वीकृत गरी तुरुन्त प्रारम्भ हुने गरी कार्यान्वयनमा ल्याएको हो । यो मापदण्डले पुरानो कार्यविधिलाई खारेज गर्दै परीक्षा सञ्चालनका हरेक पक्षमा स्पष्टता ल्याएको छ ।

लोक सेवा आयोग ऐन, २०७९ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी बनाइएको यो मापदण्डले प्रयोगात्मक र सीप परीक्षणको योजना, व्यवस्थापन, सञ्चालन, मूल्यांकन र नतिजा प्रकाशनसम्मका सबै प्रक्रियालाई एउटै छाताभित्र समेटेको छ । ५२ पृष्ठ लामो विस्तृत मापदण्डले परीक्षाका हरेक चरणलाई व्यवस्थित गर्न खोजेको छ ।

यस्ता छन् मापदण्ड

मापदण्डले राजपत्राङ्कित र राजपत्र अनङ्कित पदका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने जिम्मेवारी स्पष्ट रूपमा तोकेको छ । राजपत्राङ्कित श्रेणीका लागि केन्द्रीय कार्यालय र राजपत्र अनङ्कित तथा श्रेणीविहीन पदका लागि मातहतका कार्यालयले परीक्षा सञ्चालन गर्नेछन् । परीक्षाको कार्यतालिका सामान्यतया हेरफेर नगरिने र परीक्षा हुने स्थान, उपकरण, र सुरक्षाजस्ता विषयमा सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षा प्रक्रियालाई पारदर्शी बनाउन परीक्षा सञ्चालन गर्दा भिडियो क्यामेरा, सिडी, पेन ड्राइभ जस्ता सामग्री प्रयोग गरी मुख्य कार्यको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ । यसले परीक्षाको निष्पक्षतामाथि प्रश्न उठ्ने ठाउँलाई कम गर्नेछ । कम्प्युटर प्रयोगात्मक परीक्षाका लागि कम्प्युटर, सफ्टवेयर र नेटवर्कको अवस्था पूर्व–परीक्षण गर्नुपर्ने जस्ता प्राविधिक पक्षलाई समेत ध्यान दिइएको छ ।

परीक्षार्थीले परीक्षामा आउँदा प्रवेशपत्र, आधिकारिक परिचयपत्रका साथै आवश्यक पर्ने अनुमतिपत्र वा इजाजतपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ । परीक्षाको मर्यादा पालना नगर्ने उम्मेदवारलाई निष्कासन गरी प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । साथै, शारीरिक परीक्षणमा सहभागी हुने उम्मेदवारले स्वास्थ्य अवस्था ठीक रहेको र सम्भावित दुर्घटनाको जिम्मेवार आफैँ हुने भनी स्व–घोषणा फारम भर्नुपर्नेछ ।

मापदण्डले मूल्यांकन प्रक्रियालाई पनि व्यवस्थित गरेको छ । उत्तरपुस्तिका प्रयोग हुने र नहुने दुवै किसिमका परीक्षाको मूल्यांकन कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था छ । एउटै पदमा विभिन्न चरणका परीक्षा हुने भए, एक चरणमा अनुत्तीर्ण हुने उम्मेदवार अर्को चरणमा सहभागी हुन नपाउने नियमलाई पनि कडाइका साथ लागू गरिएको छ ।

मापदण्डले विभिन्न सेवा र पदको प्रकृतिअनुसार परीक्षा सञ्चालनका लागि विशेष व्यवस्था गरेको छ, जुन अनुसूचीमा विस्तृत रूपमा उल्लेख छ । जसमा नेपाल वन सेवाः वन रक्षक र गेम स्काउटजस्ता पदका लागि शारीरिक तन्दुरुस्ती परीक्षण (दौड, रुख चढ्ने, पौडी खेल्ने) का लागि विस्तृत प्रक्रिया र मापदण्ड तोकिएको छ ।

हात्तीसार समूहः हात्तीसार, माहुत जस्ता पदका लागि हात्ती बाँध्ने, खोल्ने, हाँक्ने, दानापानी बनाउने र जंगली हात्तीबाट सुरक्षा गर्ने जस्ता विशेष सीपको परीक्षण गरिनेछ । इन्जिनियरिङ सेवाः मेकानिकल, अपरेटर, इलेक्ट्रिसियनजस्ता पदका लागि मेसिनरी उपकरणको निरीक्षण, मर्मत र सञ्चालनका व्यावहारिक पक्षको जाँच गरिनेछ । कम्प्युटर सीप परीक्षणः कम्प्युटर अपरेटरदेखि अधिकृत स्तरसम्मका पदका लागि देवनागरी र अंग्रेजी टाइपिङ, वर्ड प्रोसेसिङ, एक्सेल, पावरप्वाइन्टदेखि वेबपेज डिजाइनिङसम्मका सीपको परीक्षण गरिनेछ ।

परीक्षा सञ्चालन गर्दा हुने खर्च र आवश्यक पर्ने जनशक्तिको समेत मापदण्ड तोकिएको छ । केन्द्राध्यक्ष, निरीक्षक, विषय विज्ञदेखि सुरक्षाकर्मीसम्मको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ, जसले परीक्षा व्यवस्थापनलाई सहज बनाउनेछ ।

यो नयाँ मापदण्डको कार्यान्वयनसँगै लोक सेवा आयोगको परीक्षा प्रणाली थप विश्वसनीय, मर्यादित र समयानुकूल हुने अपेक्षा गरिएको छ । यसले उम्मेदवारलाई पनि परीक्षाको तयारी गर्न र प्रक्रियाबारे स्पष्ट हुन मद्दत पुग्ने लोक सेवा आयोगको दावी छ ।

विशेषगरी, ‘नेपाल वन सेवा, श्रेणी विहिन, वन रक्षक, गेम स्काउट र माहुत पदको प्रथम चरणको परीक्षा सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्य चरण तथा विविध खर्च सम्बन्धी व्यवस्था, २०८०’लाई खारेज गरी यो नयाँ मापदण्डले त्यसलाई समेत समेटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस