विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक , गीतमा के छ ?

काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि उस्तै भएको थियो । अन्ततः बुधबार सो प्रतीक्षा पूरा भएको छ ।
गीत सार्वजनिक भएको २ घण्टामै युट्युबमा १८ हजारभन्दा बढी लाइक र २३०० भन्दाबढी कमेन्ट आइसकेको छ ।
गीत सार्वजनिक भएसँगै युट्युबमा एक शुभेच्छुकले लेखेका छन्, ‘दिदीको गीत आएपछि बल्ल तिज लागेझैँ भयो ।’ ती शुभेच्छुकले मात्रै होइन, उनको गीतलाई धेरैले सेयर गर्दै सकारात्मक टिप्पणी गरिरहेका छन् ।
गीतमा के छ ?
माझीको गीतले गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतको सहारामा नेपाली महिलाहरूको त्याग, सहनशीलता र उनीहरूले भोग्नुपरेको यथार्थको चित्रण गरिएको छ। यसैगरी भिडियोले गीतको भावलाई अझ गहिरो पनि बनाएको छ। यसले दुई फरक संसारलाई एकैसाथ देखाएको छ । जसमा तिजको रमझम, रातो हरियो सारीमा सजिएका महिलाहरूको नाच, रमाइलो र उत्सवको माहौल देखाइएको छ ।
यस्तै अर्को वास्तविकताको संसार देखाइएको छ । जहाँ गरिबी, श्रीमानको दुर्व्यवहार, गर्भवती अवस्थामा पनि गर्नुपर्ने कठोर परिश्रम र छोराछोरीको भविष्यप्रतिको चिन्ता सजिव ढंगले प्रस्तुत गरिएको छ । गीतले परम्परागत तिज गीतको बहानामा महिलाहरूले वर्षभरि भोग्ने दुःख र पीडालाई समेत उजागर गरेको छ।
‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ । गीतमार्फत नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, छोरीहरूको शिक्षा र सपनामा पर्ने असर र परम्पराको नाममा महिलाले भोग्नुपर्ने मौन पीडाहरूलाई सफलतापूर्वक पर्दामा उतारिएको छ ।
गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तिजमा’की मोडल ललिता पौडेलको अभिनय छ भने भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।