अफ्रिकामा एकलब्य

२९ साउन २०८२ ८:१५
अफ्रिकामा एकलब्य

महाभारतमा एक चर्चित पात्र थिए, एकलब्य । एकलव्य धनुर्विद्याका लागि द्रोणाचार्य कहाँ जान्छन् । हस्तिनापुरका राजकुमारहरुलाई धनुर्विद्या सिकाउदै गरेका द्रोर्णाचार्य निषाद जातीका एकलब्यलाई सिकाउन अस्वीकार गर्छन् । त्यसपछि उनी धनुर्विद्या सिकाउन नमानेका द्रोर्णाचार्यलाई गुरु मानेर अभ्यास गर्न थाल्छन् । र, औपचारिक शिक्षा बिना नै त्यो युगको सर्वश्रेष्ठ धनुर्धर बन्छन् ।

एकलव्यको कथा यतिमै सिमित हुदैन् । त्यसपछि उनीमाथि भएको छलछामको कथा लामो छ । यहाँ चर्चा गर्न खोजिएको कथा हो, यो समयका एकलब्यको । हो, मोरङका गायत्री कुलुङको कथा एकलब्यको भन्दा पृथक छैन् ।

२०५३ जेठ १० गते मोरङको तत्कालीन जाते गाविस–३ साम्लिङ (हालः मिक्लाजुङ गाउँपालिका–५) मा जन्मिएका गायत्रीका पाँच दिदी बहिनी र दुई दाजुभाई थिए । ज्योतिषले उनी जन्मिएको घडीपला हेरेर उनको नाम गा अक्षरबाट जुराए । र नाम दिए, गायत्री ।

बुवा महेन्द्र कुमार राई सिकर्मीको काम गर्थे । आमा धनहीरा गृहणी थिईन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । काम नगरी खान नपुग्ने ।

विद्यालयमा उनको नाम थियो, गायत्री बहादुर राई । उनलाई त्यो लामो लाग्यो ।  ८ कक्षामा उनले त्यसलाई छोट्याए, र औपचारिक रुपमै गायत्री कुलुङ राखे ।

नाम गायत्री । तर उनलाई अक्षरहरु मन पर्दैनथे । चित्र मन पर्थे । र, उनी खोजीखोजी चित्र भएका किताव हेर्थे ।  र त्यही हेरेर बनाउथे, माटोका मूर्ति ।

गोठालो जादा उनी गणेश र शिवजीका मूर्ति बनाउथे । भीरको खोपीमा राखेर आउँथे । पछि जादा भेटिदैनथे । गोठालो गएका महिलाहरुले ती मूर्ति पूजा गर्न लगिसकेका हुन्थे ।

उनका हजुरबुवाले गाउँमा शिवालय मन्दिर स्थापना गरेका थिए । मन्दिरका लागि ढुंगाको मूर्ति लिन शहर जान्थे ।  एकदिन उनले हजुरबालाई भने, अव तपाई मूर्ति लिन शहर जानु पर्दैन् । म बनाउछु ।

हजुरबाले जवाफमा भने, लु सरस्वतीको मूर्ति बनाउछस भने एक हजार रुपैया दिन्छु ।

उनका बुवा सिकर्मीको काम गर्थे । फर्निचरहरु बनाउथे । नाम्लो पनि बुन्थे । बटाली, रामु, रन्दा होप्सियो जतन गरी राख्थे ।

घर नजिकै नक्कले खोला थियो । बर्खामा उर्लिन्थ्यो । अरुबेला पानी भेट्टाउन मुस्किल । उनी सुटुक्क बुवाका औजारहरु लिएर खोलातिर लागे । साथमा बोकेर लगेका थिए, सरस्वतीको चित्र । दिनभरी मूर्ति बनाए । साँझ अवेर फर्किए । फर्किदा हुप्सियो हरायो ।

उनी डरले घर जान सकेनन् । गोठमा लुके । गाउँमा त्यो समय भुरा चोरको बिगबिगी थियो । राति ९ः३० बजेसम्म छोरा नफर्किएपछि आमा आत्तिईन । उनको खोजी शुरु भयो । उनको नाम लिएर मान्छेहरु खोज्न थाले । उनी त्यसपछि भने परालबाट फुत्त बाहिर निस्किए ।

बुवाले केरकार गरे, किन लुकेको ?
उनले भने, हुप्सियो हरायो ।
यति भनेपछि बुवाले हराउनुको कारण बुझे  । र, थप केरकार गरेनन् ।  उनी ढुक्क भए ।

तीन दिनमा मूर्ति बनाएर हजुरबालाई दिए । हजुरबा दंग । खुशी हुदै हजुरबाले उनलाई एक हजार रुपैया दिए । त्यति ठूलो रकम पाएपछि उनी पनि दंग ।

विद्यालयबाट फर्केपछि  नियमित रुपमा मूर्ति बनाउन थाले । मूर्तिको माग पनि बढ्दै गयो । पढाईमा कम । मूर्तिकलामा उनी बढि व्यस्त रहन थाले ।

गाउँकै प्राथमिक विद्यालयमा कखरा सिकेका उनले सरस्वती माविबाट एसईईको पढाई पुरा गरे । जाँते उच्चमाविबाट प्लस टुको परीक्षा दिए । उनलाई एक विषय लाग्यो ।

त्यसपछि पढाई थाँती राखे । ८० हजार तिरेर कतार पुगे । भनेजस्तो न काम । न पारिश्रमिक । मासिक २५ हजार रुपैया मिल्थ्यो । तातो हावा । जोखिमपूर्ण काम । हेल्मेट लगाएर काम गर्नुपथ्र्यो । सोचे, योभन्दा कमाई त मूर्ति बनाएरै हुन्थ्यो । उनी ११ महिनामा घर फर्किए ।

घर फर्किएपछि बिहा गरे । एकबाट दुई भए । एक वर्षपछि छोरा जन्मियो । जिम्मेवारी थपियो । व्यवहारले च्याप्दै गयो । मूर्तिकलाभन्दा बाहेक जानेको अरु केही थिएन । उनले मूर्ति बनाउन थाले । दशैंमा दुर्गाको मूर्तिको माग आउन थाल्यो । उनी एक मूर्ति बनाएको तीन हजार रुपैयासम्म लिन्थे । कहिलेकाही तीन/चार मूर्तिको अर्डर आउँथ्यो ।

मामा पर्ने दिवाकर कोईरालाले उनलाई सानो पाथिभरा भनिने ईलामको कुटीडाँडा मन्दिरको काम दिए । उनले दुई वटा शिवलिंग, गणेश र साढेको मूर्ति बनाए । र, पाए एक लाख ४० लाख पारिश्रमिक । यो जीवनको सबैभन्दा ठूलो पारिश्रमिक थियो ।

मूर्तिकलामा उनी ख्याति कमाउदै थिए । त्यहीबेला उनी एउटा मुद्दामा जेल गए । नखाएको वीष लाग्यो, भन्छन्, १३ महिनापछि सफाई पाए । र, थुनामुक्त भए ।

त्यतिबेलासम्म व्यवसाय चौपट भईसकेको थियो । सम्झौता भएको न काम हुन पायो । न भुक्तानी पाए । उनी बेलवारीबाट अलि वर्तिर लालभित्ति झरे । त्यहाँ सटर भाडामा लिएर मूर्तिकलाको काम थाले । तीन/चार महिना जति काम गरे । खर्च धान्न मुस्किल थियो ।

त्यहीबेला सेसेल्सबाट महेन्द्र भट्टराईले उनलाई निजी कम्पनीमा मूर्ति बनाउने कामको अफर सुनाए । कम्पनीले उनको काम हे¥यो । भिडिओ कलमा अन्तर्वार्ता लियो । उनी छानिए । र २०२२ को अक्टोबरमा पुगे, सेसेल्स ।

सेसेल्स ससाना टापुहरुको देश हो । ११५ वटा टापु । तीन टापुमा मात्र मानव वस्ती । एक लाख ३० हजार जनसंख्या । पर्यटनमा अडेको अर्थतन्त्र । फ्रान्स, जर्मनी र रुसी नागरिकको गन्तव्य । सेसेल्सको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल माहेमा छ । उनी माहेमा बस्छन् ।

त्यही माहेमा तीन वर्षदेखि उनी पर्यटकका लागि सेसेल्सको सुन्दर उपहार बनाउदै आएका छन् ।

उनी काठ, माटो, बाँसको जरा, ढुंगाका मूर्तिहरु बनाउछन् । माछा, कछुवा, अक्टोपस, हात्ती, सिंह, बाज र चराका मूर्तिको माग बढि छ । उनी पर्यटकको रोजाई अनुसार मूर्तिहरु बनाउछन् । छिना, हथौडामा अभ्यस्त भईसकेका उनी एक दिनमा दुई वटा कछुवाको मूर्ति बनाउन भ्याउछन् । एउटै मूर्ति तीन सयदेखि पाँच सय डलरमा बिक्री हुने गरेको उनी सुनाउछन् ।

उनको शुरुवाती पारिश्रमिक पाँच सय डलर थियो । कामप्रतिको उनको लगावका कारण तीन वर्षमा पारिश्रमिक दोब्बर भएको छ । परिस्थितिले डो¥याएर सेसेल्स पुगेपनि उनको मन भने नेपालमै छ । र, जति सक्दो चाँडो नेपाल फर्किने सोचमा छन् । जहाँ पत्नी सोनिया र छोरा साहिल छन् । र छ, परिवार ।

नेपालमा उनले गणेश, शिव, सरस्वती, दुर्गाका दर्जनौ मूर्ति बनाए । उनले भारद्धाज ऋषिको साढे पाँच फिटको मूर्ति बनाएका छन् । जो उनले बनाएको सबैभन्दा अग्लो मूर्ति हो ।

सेसेल्समा पनि उनको कर्म उही । दिनचर्या उही । बस्, फेरिएको छ माग । समुन्द्रले घेरिएको टापुमा ‘माछाको व्यापार’ बजार पाएको छ । त्यसैले त उनी काठ र ढुंगालाई माछाको आकृतिमा ढाल्न व्यस्त  रहन्छन् ।

उनी हिरो बन्ने सपनासंगै हुर्किए । ऐनामा हेरेर अभिनय गर्थे । धेरै टाढा थियो, जातेबाट त्यो फिल्मीनगरी काठमाण्डौं । उनी नाटक लेख्थे । बालबालिकालाई लिएर बाँसका मुना नाटक लेखे । गाँउमा प्रदर्शन गरे ।

अभिनयको रहरले थानकोट काट्न नसकेपछि उनी मूर्तिकला तिर लागे । ढुंगालाई आकार दिएर मूर्ति बनाए । मूर्तिले उनको जीवन बनायो ।

सिकर्मी बुवाको बटाली, कचक, छिनो, हथौडा चोरेर मूर्तिकला सिकेका गायत्री यतिबेला सिसेल्समा ग्रेन्डर, सानो डाई ग्रेन्डर, डाईमन चलाउछन् । स्वरुप परिवर्तन भएपनि औजारको काम उही हो । भूगोल परिवर्तन भएपनि उनको पेशा उही हो ।

उनी ढुंगामाथि छिना चलाई रहन्छन् । ढुंगालाई झै उनलाई दुख्न छाडिसक्यो । उनको जीवन पनि मूर्ति झै छ । जीवनमा थुप्रै हण्डरहरु खाए । चोटहरु पाए । जसरी चोट नखाई ढुंगा सुन्दर बन्दैन । हो, चोट नखाएको मान्छे पनि बलियो हुदैन् ।

भनिन्छ, मूर्तिकार भनेको ढुंगामा कविता लेख्ने कवि हो । उनी त झन कवि हृदयको मान्छे । अक्षरहरुलाई उनेर बनाउछन्, सुन्दर कविता । ढुंगालाई कुँदेर बनाउछन्, सुन्दर मूर्ति । कविता । मूर्ति । उनका जीवनका सिक्काका दुई पाटा ।

गैर आवासीय नेपाली संघ सेसेल्सले गतवर्ष दशैंमा आयोजना गरेको सेसेल्स स्तरीय कविता प्रतियोगतामा २३ वटा कवितामध्ये उनको उत्कृष्ट तीन भित्र सफल भयो । र पुरस्कार वाफत पाए, ७०० सेसेल्स रुपी (सात हजार रुपैया) । कवि हृदयलाई मूर्तिकारले ओझेलमा पार्न नसकेको उदाहरण हो, यो ।

छिना चलाउन कठोर हृदय चाहिन्छ । तर कोमल हृदय नभएको मान्छे न कवि हुन सक्छ । न त मूर्तिकार । हो, उनीभित्र कठोरता पनि छ । कोमलता पनि । मूर्तिकला पनि त मौन कविता मानिन्छ ।

कसले भन्यो, एउटा सपनाको अन्त्यले जीवनको अन्त्य हुन्छ ? बरु नयाँ सपनाको जन्म हुन्छ । र शुरु हुन्छ, नयाँ शिराबाट जीवन । बस्, ईच्छाशक्ति हुनु पर्छ । ढुंगाको कापबाट उम्रिन्छ पिपल । पिपल झै उनी ।

उनी कलियुगका एकलव्य हुन्, जो औपचारिक शिक्षा बिना मूर्तिकलामा पारंगत भए । फरक यत्ति हो, उनले गुरुलाई दक्षिणामा बुढी औंला चढाउनु परेन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस