सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागार तत्काल सुधार गर्ने

द एभरेष्ट पोष्ट
२८ साउन २०८२ १३:२२
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागार तत्काल सुधार गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला कारागार, कैलालीको सुधार गर्ने भएको छ।क्षमताको पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको हो।

कारागारभित्र कैदीबिच हिंसात्मक झडपपछि मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागारलाई तत्काल प्रदेश सरकारले सुधार गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारभित्र हेलोजन लाइट, सिसी क्यामरा जडान, कारागारको छानालगायतका आवश्यक मर्मत तत्काल सुरु गर्ने बैठकले निर्णय गरेको हो।

समितिको बैठकले कारागारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तीन÷तीन महिनामा अदलीबदली गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सदस्यसचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्यसचिव आमोद दाहालले बताए। कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ।

कैलाली कारागारभित्र रहेको कैदीको सङ्ख्या कारागारको क्षमताभन्दा पाँच गुणा बढी देखिएका कारण उत्पन्न सुरक्षा चुनौती न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने बैठकमा निर्णय गरिएको छ।

१७५ जना क्षमताको कैलाली कारागारमा ६९९ कैदी राखिएको छ। कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय समितिले गरेको छ।

कैलाली कारागारमा रहेका कैदीबन्दीको सङ्ख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेका कारण सुरक्षा चुनौती उच्च देखिएको समितिको ठहर छ।

यो कारागारको क्षमता अभिवृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबिच समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श, सकारात्मक सोच विकास गर्ने खालका कार्यक्रम सघन रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

कैदीबन्दीका लागि पुस्तक पनि उपलब्ध गराउने समितिको बैठकले निर्णय गरेको छ।कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ।

शुक्रवार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय चौधरीको ज्यान गएको थियो।

उक्त घटनामा ४७ जना कैदी घाइते भए।घाइते कैदीको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।घाइते कैदीको धनगढी र काठमाडौँमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस