सशक्त एनआरएनए मेरो पहिलो प्राथमिकता– भानु खरेल

न्यूयोर्क, ११ जुलाई ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भानु खरेलले टुटफुट र बिभाजनको शिकार भएको एनआरएनएलाई बलियो बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आईतवार न्यूयोर्कमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले चुनावी एजेण्डाका बारेमा जानकारी दिने क्रममा आफ्नो पहिलो प्राथमिकतामा एनआरएनलाई एकताबद्ध र बलियो बनाउनु भएको बताए ।
एक समय यस्तो थियो, एनआरएनएको कार्यक्रममा सयौंको सहभागिता हुन्थ्यो । जब व्यक्तिगत स्वार्थ हावी भयो । तव हामी कमजोर भयौ । त्योसंगै हाम्रा मुद्दा पनि कमजोर भए, खरेलले भने, बिभाजित भएर हामी लक्ष्यमा पुग्न सक्दैनौ । सबै एकजुट हुनुको बिकल्प छैन् ।
एनआरएनए एक ढिक्का हुदा संविधानमा गैर आवासीय नेपालीका हकहीत र अधिकारका कुरा समेट्न सकेको चर्चा गर्दै खरेलले एनआरएनएको बिकल्प खोज्न नसकिने बताए । उनले भने, एनआरएनएको बिकल्प सुधारिएको एनआरएन नै हो । यसको बिकल्प अरु संस्था हुन सक्दैनन् ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एनआरएनएलाई एक ढिक्का र बलियो बनाउनु आजको आवश्यकता हो । एनआरएनएका विषयमा नकारात्मक प्रचार धेरै भयो । उनले भने, एनआरएनए बलियो हुदा गैर आवासीय नेपालीका पक्षमा भएका कामका विषयमा चर्चा नै हुदैन् । राम्रा कामको चर्चा गर्न जरुरी छ ।
खरेलले दोस्रो प्राथमिकतामा, बंशजको नागरिकताको निरन्तरताका लागि सरकारलाई दवाव दिनु भएको बताए ।
‘एक पटकको नेपाली, सधैको नेपाली’ भन्ने नारा व्यवहारमा कार्यान्वयन हुन सकेको छैन् । नेपाल सरकारबाट प्राप्त भएको गैर आवासीय नागरिकता कार्यान्वयनमा कठिनाई छ । घरजग्गा पास गर्न झञ्झट छ । सम्पत्तीमाथिको अधिकार सुनिश्चित हुन सकेको छैन्, उनले भने, गैर आवासीय नागरिकताको कार्यान्वयन र बंशजको नागरिकताको निरन्तरताका लागि सरकारलाई दवाव दिनेछु ।
उनले विदेशमा नेपाली, भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका लागि आफूले काम गर्ने प्रतिबद्धता गरे ।
खरेलले गैर आवासीय नेपालीहरुको आर्थिकस्तर उकास्न उद्यमशीलताको विकास र व्यवसायको प्रबद्र्धनमा जोड दिने बताए ।
उनले सूचना प्रविधिका क्षेत्रमा संसारका ख्यातिप्राप्त व्यवसायीक प्रतिष्ठानहरुमा नेपालीहरु उच्च ओहोदामा रहेको चर्चा गर्दै उनीहरुको ज्ञान, अनुभव, पूँजी र अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको विकास र समृद्धिका लागि सदुपयोग गर्ने बताए ।
युवा, महिला र सीमान्तकृत समुदायको सहभागितामा एनआरएनलाई समावेशी बनाउने खरेलको प्रतिबद्धता थियो ।
उनले व्यक्तिगत स्वार्थ त्यागेर गैर आवासीय नेपालीको मुद्दामा एकमत हुनुको बिकल्प नभएको बताए ।
यतिबेला हामी अलमलमा छौ । अलमलले गन्तव्यमा पुग्न सक्दैनौ । पारदर्शिता र जवाफदेहिता पनि उत्तिकै अपरिहार्य छ । हो, हाम्रा निर्णयहरु र आर्थिक गतिबिधि पारदर्शी हुनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा, समुदायले के चाहेको छ ? त्यसमा केन्द्रित हुनै पर्छ, खरेलले भने, तवमात्र हामी बलियो हुनेछौ ।
खरेलले चुनावी अभियानका क्रममा आफूले प्रस्तुत गरेका एजेण्डा निर्वाचित भएपछि पुरा गर्ने प्रतिबद्धता गरे ।
अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले टीम भानुको एजेण्डाप्रति समर्थन जनाउदै एनआरएनएलाई बलियो बनाउन टीम भानुलाई मतदान गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा एनआरएनए आईसीसीका सहकोषाध्यक्ष कृष्ण पोखरेल, भिजन क्लवका अध्यक्ष मोहन श्रेष्ठ, हामी ग्लोवल नेपालीका अध्यक्ष शोभाकान्त पाण्डे, एनआरएनएका रिजनल को–अर्डिनेटर आङ छिरिङ शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव, मुनिन्द्र नेम्वाङ, राप्ती समाजका सचिव तुलसी राम ओली, जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अम्बिर जोशी, गिरिजा प्रसाद कोईराला फाउण्डेसनका प्रवक्ता रामचन्द्र अधिकारी, एनआरएनए न्यूयोर्क च्याप्टरका निर्विरोध अध्यक्ष डण्डपाणी लामिछाने, ‘बासु’ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सुदूर पश्चिम समाज न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्ट, हामी ग्लोवल नेपालीका पूर्व अध्यक्ष ध्रुव कुँवर, सामाजिक अभियन्ता श्याम कार्की लगायत बिभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।
खरेलको प्यानलबाट बोर्ड अफ डाईरेक्टर पदका उम्मेदवार राम बहादुर देउवाले संयोजन गरेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव पदका उम्मेदवार बासुदेव भट्टले गरेका थिए ।