रूसले ७२ लाख डलरमा बेचेको थियो अलास्का

द एभरेष्ट पोष्ट
२७ साउन २०८२ १३:४१
रूसले  ७२ लाख डलरमा बेचेको थियो अलास्का

काठमाडौं । दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध तत्काल रोक्ने दाबी गरेका  थिए। उनले राष्ट्रपति बनेको २४ घण्टाभित्र युद्ध रोक्ने बाचा पनि गरेका थिए। राष्ट्रपति बनेपछि उनले रूसी भ्लादिमिर पुटिनसँग धेरैपटक टेलिफोन वार्ता गरेका छन्। महिनौँ बितिसक्दा पनि युद्ध रोकिएको छैन।

वार्ताका लागि दुवै नेताको प्रत्यक्ष भेटको कुरा उठेपछि भेट हुने ठाउँका बारे अड्कलबाजी सुरु भए। संयुक्त अरब इमिरेट्सदेखि इस्तानबुल र भारतसम्म सम्भावित स्थानले चर्चा भए पनि अन्ततः अलास्काको नाम तय भयो र तुरुन्त सहमति बन्यो। पुटिननले यस स्थानलाई वार्ताका लागि ‘पूर्णतया तार्किक’ भनेका छन्। आउँदो शुक्रबार १५ अगस्टमा डोनाल्ड ट्रम्प र पुतिन युक्रेन युद्ध रोक्ने विषयमा छलफल गर्न अलास्कामा भेट्नेछन्।

अलास्का कुनै समय रूसी साम्राज्यको हिस्सा थियो, जुन पछि अमेरिकालाई बेचिएको हो। यो कथा १५० वर्षभन्दा पुरानो हो।

उत्तर अमेरिकाको उत्तर-पश्चिमी कुनामा ५८६,४१२ वर्गकिलोमिटरमा फैलिएको अलस्का सन् १८६७ मा अमेरिकाको अलास्का राज्य बन्यो। त्यसअघि यो रूसको हिस्सा थियो। रूसले यसलाई बेच्ने प्रस्ताव धेरैपटक राखे पनि वार्ता धेरै लम्बिएको थियो। अमेरिकामा गृहयुद्ध सुरु भएपछि त यो विषयमा छलफल रोकियो।

रूसले किन बेचेको थियो अलास्का

विशाल समुद्रतट, हिमाल, घना जंगल र टुन्ड्रा क्षेत्रमा फैलिएको अलास्का धेरै हिमनदीको घर हो। सुदूरपूर्वी भागमा रहेको अलास्कालाई आफ्नो नियन्त्रणमा राख्नु रूसी शासकका लागि खर्चिलो र कठिन बन्दै गइरहेको थियो। यो रूसको कब्जामा भए पनि त्यहाँ रूसी बस्ती थिएनन्।

त्यहाँ रूसीहरूको सम्पत्ति भने थियो तर त्यसको सुरक्षा र आवश्यक सामग्री आपूर्ति गर्न रूसलाई निकै मेहनत गर्नुपर्थ्यो। स्थानीय दुई प्रमुख समुदायमध्ये एक अल्युटसँग रूसको सम्बन्ध थियो भने अर्को ठूलो समुदाय ट्लिंगित समय–समयमा रूसका लागि समस्याका रूपमा प्रस्तुत हुन्थ्यो।

सन् १८५३ देखि १८५६ सम्म चलेको क्रिमियाको युद्धमा ठूलो क्षति बेहोरेपछि रूसी सम्राट् अलेक्जान्द्र द्वितीयको स्थिति कमजोर भयो। त्यसबेलासम्म रूसले आफ्नो ध्यान एसियातर्फ केन्द्रित गरिसकेको थियो र अलास्कामा स्रोत खर्च गर्न इच्छुक थिएन। यसबाहेक ब्रिटेनको हडसन बे कम्पनीसँग पनि उसको प्रतिस्पर्धा बढ्दै गएको थियो। अलास्काको दक्षिणी भागको केही भूभाग हडसन बे कम्पनीले लिजमा लिएको थियो।

त्यस समयमा अमेरिका ‘म्यानिफेस्ट डेस्टिनी’ नीतिमा चलिरहेको थियो, जसअन्तर्गत प्रशान्त क्षेत्रतर्फ अमेरिकी प्रभुत्व बढाउने प्रयास भइरहेको थियो। अलास्काको सीमा क्यानाडासँग जोडिएको छ। त्यतिबेलाका अमेरिकी नेताहरू एक दिन क्यानाडालाई पनि आफ्नोमा मिलाउने चाहना राख्थे। यही चाहना केही समयअघि ट्रम्पको बोलीमा पनि सुनिएको थियो।

रूसलाई पनि अन्ततः अलास्का अमेरिका नै पुग्ने महसुस हुन थालेपछि रूसी सम्राट्ले यसलाई अमेरिकालाई सुम्पने निर्णय गरे।

दुई सेन्ट प्रतिएकडमा अलास्का बिक्री

सन् १८६६ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि अलास्का विषयमा रूस र अमेरिकाबीच फेरि वार्ता सुरु भयो। रूसी सम्राट्ले यो जिम्मा मन्त्री बेरन एडुआर्ड स्टोएकललाई दिए। स्टोएकलले अमेरिकी परराष्ट्रमन्त्री विलियम हेनरी सेवार्डसँग कुरा गरे। सेवार्ड अमेरिकी विस्तारवादका प्रबल समर्थक थिए। उनी लामो समयदेखि अलास्कालाई देशमा मिलाउन चाहन्थे।

११ मार्च १८६७ मा वार्ता सुरु भयो। धेरै चरणको मोलमोलाइपछि २९ मार्च १८६७ मा सहमति भयो। रूसलाई ७२ लाख डलर अर्थात् प्रतिएकड २ सेन्टका दरले रकम तिर्ने निर्णय गरियो। ३० मार्चमा दुवै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए।

अमेरिकी सेनेटमा यो प्रस्ताव पेस हुँदा केही सदस्यहरूले विरोध गरे। अलास्काका प्राकृतिक स्रोतबारे दाबीमा प्रश्न उठाए। तर लामो बहसपछि ९ अप्रिलमा यो पारित भयो। रकम विनियोजनमा पनि संसद्‌मा खिचातानी भयो, किनभने केही सांसद राष्ट्रपति एंड्र्यु जोन्सनका कदमबाट असन्तुष्ट थिए। यद्यपि जनतामा यसको उत्साह उच्च थियो र अन्ततः संसद्ले अनुमोदन गर्‍यो। १८ अक्टोबरमा अमेरिकाले सिट्कामा झन्डा परिवर्तन गरेर आधिकारिक रूपमा अलास्काको अधिग्रहण गर्‍यो।

यो शिखर बैठक युक्रेन युद्धमा निर्णायक मोड ल्याउन सक्ने अनुमान छ। युद्ध करिब साढे तीन वर्षअघि रूसले आफ्नो पश्चिमी छिमेकी मुलुकमाथि आक्रमण गर्दा सुरु भएको हो, जसमा दसौँ हजार मानिसको मृत्यु भइसकेको छ। तर मस्को र किभबीच शान्तिका सर्तमा गहिरो मतभेद भएकाले युद्ध तुरुन्तै अन्त्य हुने निश्चित छैन।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्भावित सहमतिको एउटा अंश ‘केही भूभागको आदान-प्रदान’ हुनसक्ने बताएका छन् तर विवरण भने दिएका छैनन्। क्रेमलिन नजिकका केही विश्लेषकहरू रूसले आफूले कब्जा गरिराखेका तर अतिक्रमित प्रदेशबाहिरका केही भूभाग फिर्ता गर्न प्रस्ताव गर्न सक्ने बताउँछन्।

ट्रम्पले पुटिनसँगको भेट युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीको सहभागिता बिना नै हुने बताएका छन्। यसअघि पनि उनले पुटिनले जेलिन्स्कीलाई भेट्न अस्वीकार गरे पनि आफू पुटिनलाई भेट्न तत्पर रहेको बताएका थिए। यसले युरोपमा युक्रेनलाई वार्ताबाट पन्छाउने चिन्ता बढाएको छ।

ट्रम्पले पुटिनलाई अमेरिकामा स्वागत गर्ने घोषणा अपेक्षितभन्दा फरक कदम हो। दुवै नेताहरूको भेट तेस्रो मुलुकमा हुने अड्कल थियो। यो कदमले युक्रेन युद्धका कारण लामो समयसम्म पश्चिमबाट अलग्याइएका पुटिनलाई कूटनीतिक मान्यता दिने विश्लेषण गरिएको छ। पुतिन सन् २०१५ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेपछि पहिलोपटक अमेरिका जान लागेका हुन्।

यसअघि ट्रम्प र पुटिनबीच २०१९ मा जापानमा भएको जी–२० सम्मेलनका क्रममा भेट भएको थियो। त्यतिबेला ट्रम्पको पहिलो कार्यकाल चलिरहेको थियो। दुई नेताबीच सन् २०१८ मा हेलसिन्कीमा भेटवार्ता भएको थियो। जनवरी २०२५ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि यी दुई नेताबीच अहिलेसम्म टेलिफोनमा धेरैपटक कुरा भएको छ। अमेरिकामा पुटिनको अमेरिकी राष्ट्रपतिसँग अन्तिम भेट २०१५ मा संयुक्त राष्ट्रसंघको महासभामा भएको थियो। त्यसबेला बराक ओबामा अमेरिका राष्ट्रपति थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस