४० घण्टापछि कैलाली कारागार प्रहरीको नियन्त्रणमा, भित्र पुग्यो प्रहरी

धनगढी, २५ साउन ।
कैदीबन्दीबीचको झडपको झण्डै ४० घण्टापछि कैलाली कारागारमा प्रहरीले नियन्त्रण कायम गरेको छ । झडपपछि कैदीबन्दीहरुको अवरोधका कारण भित्र पस्न नपाएको प्रहरीको टोली ४० घण्टापछि कारागार भित्र पसेको छ ।
शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा १ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । तीमध्ये एक जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।
घट्नापछि शनिवार बिहान कारागार हाताभित्र पुगेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसहित सुरक्षा प्रमुखहरुको टोली कैदीबन्दी रहेको ब्लकभित्र प्रवेश गर्न खोजेको थियो । ब्लकको प्रवेशद्धारमा ग्याँस सिलिण्डर र प्रेसर कुकर राखेर अवरोध सृजना गरेका कैदीबन्दीहरुले सुरक्षा अधिकारीहरुलाई भित्र प्रवेश गर्न दिएनन् ।
कारागार प्रवेश गरेका उनीहरू घटनास्थल जान नसकेपछि फर्किएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय गएर सुरक्षा समितिको बैठक बसेर १० दिनभित्र प्रतिवेदन बुझाउने गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।
बिहान जिल्ला सुरक्षा समिति घटनास्थलमा नपुगी फर्किएको थियो भने दिउसो राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरू भेट्न नपाएर फर्किएको थियो । राति भने उनीहरूले भेटेका थिए । तर, कैदीबन्दीहरुले प्रहरी प्रशासनलाई भने आउन नदिने बताएका थिए ।
माथिल्लो तहबाट कोही आएपछि मात्रै यहाँ आउनु होला नत्र नआउनु होला कारागारको व्यवस्थापन सुधार गर्नुपर्ने छ उनीहरूले भनेका थिए । आइतबार दिउसो मानवअधिकार आयोगकै टोलीसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठुलो टोली हतियारसहित घटनास्थल प्रवेश गरेको थियो ।
तनावग्रस्त बनेको कारागार भित्र ४० घण्टा पछि प्रहरी पुगेर कैदीबन्दीको सङ्ख्या पुनः गणना गरिएको छ ।
मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको सङ्ख्या यकिन गरिएको हो ।
तनावपछि कैदीबन्दीको सङ्ख्यामा अन्योल भएको आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका थिए ।
गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५७ जना रहेका छन् ।
शनिवारको झडपमा घाइते भएकाहरूको सङ्ख्या ४८ रहेको कारागार प्रशासनले जनाएको छ । प्रशासनका अनुसार शनिवार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए । आइतबार गणना गर्दा सङ्ख्यामा तलमाथि नदेखिएको पाइएको छ ।
शुक्रबार दिवाल भत्काएर कुटपिट गरिएको बताइएको थियो । आइतबार अनुगमनमा उक्त दिवाल पुन निर्माण गरिएको मानव अधिकार आयोगका प्रदेश प्रमुख प्रकाश भट्टले जानकारी दिए । यसअघि कैदीबन्दीले थुनुवा कक्षमा भित्रबाट लक गरेर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।