सबैका लागि नि:शुल्क उपलब्ध जीपीटी-फाइभमा खास के छ ?

काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले हालै आफ्नो नयाँ लार्ज ल्याङ्ग्वेज मोडेल ‘जीपीटी-फाइभ’ ल्याएको छ । योसँगै एआईको दुनियाँमा अर्को बहस सिर्जना गरेको छ । कम्पनीले यो मोडेलले कोडिङ, लेखन जस्ता क्षेत्रमा पीएचडी-स्तरको विशेषज्ञता दिनसक्ने दाबी गरेको छ ।
एडभान्स्ड एआई च्याटबट बनाउने दौडमा अहिले ओपनएआई, गुगल, एक्सएआई, एन्थ्रोपिक जस्ता कम्पनीहरूबिच कडा प्रतिस्पर्धा चलिरहेको छ । यही प्रतिस्पर्धाको दौरान आएको जीपीटी-फाइभले प्रयोगकर्ताका लागि केही नयाँ र सुधारिएका सुविधा ल्याएको छ । तर केही विज्ञहरूले यसलाई अघिल्ला संस्करणहरूभन्दा ठुलो छलाङ नमानी केवल चर्चामा रहिरहने प्रयासको रूपमा हेरेका छन् । वास्तवमा जीपीटी-फाइभ मा के-के छन् त नयाँ सुविधा ? आज हामी यसैबारे चर्चा गर्दैछाैँ:
सबैका लागि निःशुल्क, प्रिमियम सदस्यलाई धेरै सुविधा
ओपनएआईले जीपीटी-फाइभ सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराएको छ । जसलाई साप्ताहिक रूपमा ७० करोड प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यद्यपि, निःशुल्क संस्करणमा यसको प्रयोगको सीमा तोकिएको छ ।
कम्पनीले आफ्ना शक्तिशाली संस्करणहरूको सदस्यता बेचेर र आफ्ना मोडेलहरूलाई व्यावसायिक प्रणालीमा एकीकृत गरेर आम्दानी गर्छ । यसका विभिन्न तह छन् ।
-
च्याटजीपीटी प्लस: मासिक २० डलर तिर्ने प्रयोगकर्ताले निःशुल्क प्रयोगकर्ताको तुलनामा उल्लेखनीय रूपमा उच्च प्रयोग (higher usage) सीमा पाउनेछन् ।
-
च्याटजीपीटी प्रो: मासिक २०० डलर तिर्ने प्रयोगकर्ताले जीपीटी-फाइभमा असीमित पहुँच पाउनेछन् र यसको अझै परिस्कृत संस्करण ‘जीपीटी-फाइभ प्रो’ पनि प्रयोग गर्न सक्नेछन् ।
-
इन्टरप्राइज र एजुकेसन: व्यावसायिक र शैक्षिक प्रयोगकर्ताले ‘उदार सीमा’ (generous limits) पाउने कम्पनीले जनाएको छ ।
तपाईंको व्यक्तिगत कोडर
आजकल सिकारु प्रोग्रामर र डेभलपरले कोडिङका लागि च्याटजीपीटी प्रयोग गर्छन् । जीपीटी-फाइभ कोड लेख्नमा पहिलेभन्दा अझै उत्कृष्ट रहेको ओपनएआईको दाबी छ । ‘भाइब कोडिङ’ अर्थात् साधारण भाषामा दिइएको प्रम्प्टका आधारमा वेबसाइट, एप, गेम जस्ता अन्तरक्रियात्मक एप्लिकेसनहरू बनाउन सक्ने क्षमताले जीपीटी-फाइभ तपाईंको मुख्य कोडिङ पार्टनर बन्न सक्ने सम्भावना छ । यद्यपि, यो पूर्ण रूपमा सही छैन । यसले गल्तीहरू गर्न सक्छ । तर पनि कोडिङ क्षमतामा यसलाई एउटा फड्को मानिएको छ ।
विशेष व्यक्तित्वहरू (Special personalities)
जीपीटी-फाइभबाट सञ्चालित च्याटजीपीटीमा अब प्रयोगकर्ताले कुराकानी गर्दा चार फरक पूर्वनिर्धारित ‘पर्सनालिटी’ हरूबाट छनोट गर्न सक्नेछन्: ‘cynic’, ‘robot’, ‘listener’, र ‘nerd’ । यी व्यक्तित्वको उद्देश्य च्याटबटसँगको कुराकानीलाई थप स्वाभाविक महसुस गराउनु रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले च्याटजीपीटीको सेटिङमा गएर यसलाई समायोजन पनि गर्न सक्छन् ।
जिमेल र गुगल क्यालेन्डरसँग इन्टिग्रेसन
जीपीटी-फाइभको रोचक सुविधामध्ये एक जिमेल र गुगल क्यालेन्डरसँगको इन्टिग्रेसन हो । यसले प्रयोगकर्तालाई समयतालिका मिलाउन, रिमाइन्डर सेट गर्न र ईमेल फलो-अप जस्ता काममा सहयोग गर्नेछ । च्याटजीपीटीले यी एपबाट स्वचालित रूपमा जानकारी तानेर आवश्यक परेको बेला प्रयोग गर्नेछ । जसले गर्दा यो एक व्यक्तिगत एआई एजेन्ट जस्तै बन्नेछ । यद्यपि, यो सुविधा सुरुमा प्रो प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।
तथ्यगत त्रुटि कम
ओपनएआईले जीपीटी-फाइभमा अघिल्ला मोडेलहरूको तुलनामा तथ्यगत त्रुटि अर्थात् ‘ह्यालुसिनेसन’ निकै कम भएको बताएको छ । एआई प्रणालीमा तथ्यगत त्रुटि एक निरन्तर समस्याको रूपमा रहँदै आएको छ । अनुसन्धानकर्ताले यसलाई पूर्ण रूपमा हटाउन असम्भव रहेको निष्कर्ष निकालेका छन् । ओपनएआईका अनुसार जीपीटी-फाइभले दिने प्रतिक्रियामा जीपीटी-फोरओको तुलनामा ४५ प्रतिशत कम तथ्यगत त्रुटि हुने सम्भावना छ । तर सामान्य काममा पनि यसले गल्ती गर्न सक्ने कुरालाई नकार्न सकिँदैन ।
स्वास्थ्यसम्बन्धी प्रश्नमा अब्बल !
पछिल्लो समय धेरै मानिसले स्वास्थ्यसम्बन्धी प्रश्नका लागि गुगल सर्चको सट्टा एआई टुल प्रयोग गर्न थालेका छन् । जीपीटी-फाइभले ‘हेल्थबेन्च’ परीक्षणमा आफ्ना अघिल्ला सबै मोडेलभन्दा उच्च अङ्क प्राप्त गरेको ओपनएआईको भनाइ छ । यसले एक सक्रिय वैचारिक साझेदारको रूपमा काम गर्दै सम्भावित चिन्ताहरूलाई आफैँ पहिचान गरी थप सहयोगी जवाफ दिनका लागि प्रश्न सोध्ने गर्छ ।
यद्यपि, यो स्पष्ट हुनुपर्छ कि एआई च्याटबट डाक्टरको विकल्प हुनै सक्दैनन् । कुनै पनि स्वास्थ्यसम्बन्धी निर्णय लिनुअघि पेशेवर चिकित्सकसँग परामर्श लिनु अनिवार्य छ ।
प्रयोगमा सहज, तर ‘एजीआई’ बाट टाढा
जीपीटी-फाइभ प्रयोग गर्न सजिलो बनाइएको छ । यसमा भएको ‘रियल राउटर’ फिचरले कुराकानीको जटिलताको आधारमा कुन मोडेल प्रयोग गर्ने भनेर स्वचालित रूपमा निर्धारण गर्छ । यो रिजनिङ मोडेल अर्थात् समस्या समाधानमा गहिरोसँग सोच्ने क्षमतामा आधारित भएकाले पहिलेभन्दा बढी बौद्धिक छ ।
तर, यी सबै सुधारका बाबजुद जीपीटी-फाइभ क्रान्तिको सट्टा एक अपग्रेड (विकास) मात्र भएको विश्लेषण गरिएको छ । यो कुनै नयाँ आईफोन वा एन्ड्रोइड फोन सार्वजनिक भएजस्तै हो । जीपीटी-फाइभ बढी ‘बौद्धिक’ भए पनि ओपनएआई लगायत सबै एआई कम्पनीको अन्तिम लक्ष्य रहेको आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) अर्थात् मानवजस्तै सोच्न र बुझ्न सक्ने क्षमता हासिल गर्ने बाटो भने अझै स्पष्ट भइसकेको छैन ।