राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन, चित्त नबुझे नेतृत्वमाथि चुनौती दिनुस् : लिङदेन

द एभरेष्ट पोष्ट
२६ साउन २०८२ १२:५९
राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन, चित्त नबुझे नेतृत्वमाथि चुनौती दिनुस् : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे ।

उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर गरे । विगतमा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेष अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।

“यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,” उनले भने, “म यति नै भन्छु, यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।”

उनले पार्टीमा देखिएका समस्या भित्रैबाट समाधान गरिने बताए । चित्त नबुझेका विषय पार्टीका समितिमा छलफल गरिने र त्यसबाट निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने उनले उल्लेख गरे ।

पार्टीका समितिमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनले बताए । तर, पार्टीको आन्तरिक विषय सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकमा भ्रम पार्नेजस्ता कार्य गर्न नहुनेमा उनले जोड दिए ।

“बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं,” उनले भने ।

राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस