माधव नेपालसँग भेटेपछि झलनाथको प्रतिक्रिया- अब म जीवनमै कसैसँग कार्यवाहक माग्दिनँ

काठ्माण्डौँ- लामो समय आरोप-प्रत्यारोपमा उत्रिएपछि अन्तत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एकै ठाउँमा बसेर मन माझ्ने प्रयास गरेका छन्।
अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै सम्मानित नेता खनालले पार्टी नेतृत्व छाड्न आग्रह गर्दै आएका छन्।
आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै आएका अध्यक्ष नेपाललाई सम्मानित नेता खनालको यो प्रस्ताव चित्त बुझेको छैन। त्यसैले हुनुपर्छ, अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच आरोपप्रत्यारोपको श्रृंखला नै चलेको छ।
नेताहरूबीच सार्वजनिक रूपमै आरोप-प्रत्यारोप भएपछि एकीकृत समाजवादीका केही नेताहरूले अध्यक्ष र सम्मानिन नेताहरू भेट गरेर कुराकानी गर्ने वातावरण मिलाए।
सोहीअनुसार अध्यक्ष नेपाल–खनालबीच शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पौने दुई घन्टा कुराकानी भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
‘अध्यक्ष र सम्मानित नेताहरूबीच संवादको थालनी भएको छ। एक अर्काविरूद्ध नबोल्ने समझदारी पनि भएको छ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘शनिबार धेरै लामो कुराकानी भएन। फेरि छिट्टै बस्ने र बाँकी विषयमा समझदारी कायम गर्ने भन्ने भएको छ।’
पाण्डेले दोस्रो तहका नेताहरूले भेटको सहजीकरण गरेको बताए।
‘पछिल्लो समय जेजति कुरा बाहिर आए, त्यसले वातावरण बिगार्ने देखेर दुई नेतालाई संवादमा राखेका हौं,’ पाण्डेले भने, ‘भेटका लागि म, प्रमेश हमाल, घनश्याम भूसालले सहजीकरण गरेका थियौं। हिजोको भेटमा उल्लेखनीय रूपमा बताउनुपर्ने केही छैन, अब अर्कोपटक बस्ने बैठकले एउटा आकार दिनेछ।’
अध्यक्ष नेपालसँग के विषयमा कुराकानी भयो भनेर हामीले सम्मानित नेता झलनाथ खनाललाई सोध्यौं।
खनालले आफूले छलफलमा धेरै कुरा राख्न नपाएको गुनासो गरे।
‘अध्यक्ष नै ४० मिनेट बोल्नुभयो, इतिहासदेखिका कुरा राख्नुभयो, म जनकपुर जानुछ भन्नुहुन्थ्यो,’ खनालले भने, ‘मैले केही कुरा त राखेँ, खासगरी मैले राख्दै आएको विषयमा म जहाँ पनि छलफल गर्न तयार छु भनेँ। पार्टीमा समस्या छन्, विधिसम्मत छलफल गरी हल खोज्नुपर्छ भन्ने मेरो प्रस्ताव हो।’
संगठन सञ्चालनमा यावत समस्या देखिएको र त्यसको विधिसम्मत हलका निम्ति अध्यक्षकै भूमिका हुनुपर्छ भनेर आफूले भनेको पनि उनले बताए।
हामीले सम्मानित नेता खनाललाई कार्यवाहकको विषय उठ्यो कि उठेन भनेर सोध्यौं। उनले भने, ‘यो कुरा मैले अध्यक्षसँग राखिनँ। म मेरो जीवनमै अब कसैसँग कार्यवाहक माग्दिनँ। मलाई कार्यवाहक देऊ भन्न म जान्न पनि।’
पार्टीमा देखिएका विभिन्न समस्याहरू हल गर्न आफू सकारात्मक रहेको जबाफ अध्यक्ष नेपालले दिएका थिए।
अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्नतर्फ लाग्नुपर्ने बताएका थिए।
अध्यक्ष नेपालसँग भेटवार्तापछि निवास डल्लु फर्केका खनालले नेता वामदेव गौतमसँग शनिबार नै कुराकानी गरेका थिए।
खनाल निवास डल्लुमा झन्डै ६ घन्टा चलेको छलफलमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा कुराकानी भएको नेता गौतमले जानकारी दिए।
‘हामी पुराना साथी हौं, लामो समयदेखि कुरा पनि भएको थिएन, पार्टीकोभन्दा ज्यादा व्यक्तिगत कुराकानी भयो,’ गौतमले सेतोपाटीसँग भने, ‘त्यसरी बाहिर चर्चा गर्ने गरी कुनै कुरा भएको छैन। पार्टीलाई एकताबद्ध बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने कुरा भयो।’