एएफसी यु-२० महिला एसियन कप छनोट: अन्तिम मिनेटमा नेपाललाई सफलता

द एभरेष्ट पोष्ट
२५ साउन २०८२ ११:५२
एएफसी यु-२० महिला एसियन कप छनोट: अन्तिम मिनेटमा नेपाललाई सफलता

काठमाडौं । निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाको गोल प्रेरणामा नेपालले एएफसी यु–२० महिला एसियन कप छनोटमा पहिलो जित निकालेको छ।

भुटानमा जारी छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरेबियामाथि १–० को साँघुरो जितमा अट्याकिङ मिडफिल्डर सुक्रियाले निर्णायक गोल गरेकी हुन्। यससँगै समूह ‘ए’ को नेपालले दुई खेलबाट चार अंक बटुलेको छ। यो जितपछि नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ।

नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो। लगातार दोस्रो हार सामना गरेको साउदी अरेबियाको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ। नेपाली टोली भने संघर्षपूर्ण जित निकाल्न सफल भयो। यसअघि पहिलो खेलमा खराब प्रदर्शन गर्दा नेपालले घरेलु टोलीसँग अंक बाँड्नुपरेको थियो।

दोस्रो खेलमा पनि नेपाली टोलीले आशातीत प्रदर्शन गर्न सकेन। राम्रा अवसर सिर्जना गर्न नसक्दा नेपाली बराबरीको नतिजा उन्मुख थियो। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा थिए। तर, बराबरीतर्फ अग्रसर भएको खेलमा नेपालले अन्तिम समयमा गोल गर्‍यो। नेपालले बढी समय बल आफ्नो पक्षमा राखेको थियो।

केही अवसर बनाए पनि तिनले साउदीकी गोलकिपर फजर सक्काफलाई पार गर्न सकेनन। पश्चिम एसियाली टोलीले पनि सुधारिएको प्रदर्शन गर्‍यो। अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो। दोस्रो खेलमा भने नेपाली टोलीमाथि लगातार दबाब बनायो। तर, अन्तिम समय भने समालिन सकेन।

स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा नेपाल पहिलो हाफमै अग्रता लिन असफल भएको हो। मीनाले ३७औं मिनेटमा पेनाल्टी प्रहार खेर फालेकी थिइन्। अट्याकिङ मिडफिल्डर मनीषा सेनलाई विपक्षी खेलाडी बास्माह अल्सनाइफीले बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी अवसर प्राप्त गरेको थियो।

मीनाको प्रहार दोस्रो बारमा ठोक्किएर फर्किन पुग्यो। त्यसअघि खेलको १८औं मिनेटमा पनि क्रसबार बाधक बन्दा नेपाल गोल गर्नबाट वञ्चित भएको थियो। लेफ्ट साइडबाट सेन्टर ब्याक सरिता नाथको फ्रिकिक प्रहार क्रसबारमा ठोक्किएर फर्किन पुग्यो। रिबाउन्ड बललाई राइट ब्याक अनिशा राईले पोस्टको दिशा दिइन्। तर, अनिशाको प्रहार साउदीकी गोलकिपर दानाह जिमारहले सहजै नियन्त्रणमा लिइन्।

दोस्रो हाफमा मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले चार खेलाडीलाई परिवर्तन गरेका थिए। कुसुम खतिवडालाई प्रतिस्थापन गर्दै सुक्रिया मैदान आएकी थिइन्। दोस्रो हाफमा दुवै टोलीले राम्रा अवसर सृजना गर्न सकेनन्। अन्तिम मिनेटमा अनिशाको लामो दूरीको फ्रिकिक पासलाई विपक्षी डिफेन्डरले क्लियर गर्न असफल भइन्। तर, मीनाले पनि त्यसलाई सदुपयोग गर्न सकिनन्। राइट साइडबाट मीनाको कटब्याकलाई सुक्रियाले पहिलो बार च्याप्दै गोल गरेकी हुन्। ३०औं मिनेटमा साउदी अरबकी लामा अलसथ्रीले पनि गोल गर्ने अवसर गुमाएकी थिइन्।

 

नेपालका दुई डिफेन्डर छक्याउँदै उनी बक्सभित्र छिरेकी थिइन्। तर, नजिकै दूरीबाट उनको प्रहार बारमाथिबाट बाहिरिन पुग्यो। साउदी अरब दोस्रो हाफको अधिकांश समय नेपाललाई रोक्न सफल भयो। तर, ९०औं मिनेटमा समालिन सकेन र लगातार दोस्रो हार सुम्पिन बाध्य भयो।

 

देउवाले बक्सभित्र कटब्याकमा दिएको बललाई मियाले गोल गर्दै नेपाललाई १–० को पहिलो जित दिलाइन्। अब नेपालले समूहको तेस्रो खेलमा यसै उमेरसमूहमा विश्व च्याम्पियन टोली उत्तर कोरियासँग आगामी आइतबार खेल्नेछ। सोही दिन नै साउदी घरेलु टोली भुटानविरुद्ध सान्त्वना जितको खोजीमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस