प्रधानमन्त्री ओलीद्वारा दक्षिण-दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

द एभरेष्ट पोष्ट
२२ साउन २०८२ १३:०८
प्रधानमन्त्री ओलीद्वारा दक्षिण-दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण-दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले भौगोलिक स्थान कुनै देशको सम्भावनामा बाधक हुनु नहुने बताउँदै प्रविधि र अन्तरजोडिएको विश्वले यसलाई चिर्ने सम्भावना प्रदान गरेको धारणा व्यक्त गरे ।

यस्तै, उनले भूमि अवरुद्ध देशहरू अझै पनि संरचनात्मक समस्याबाट ग्रस्त रहेको, जसलाई हालका विश्वव्यापी संकटहरू- जस्तै भू–राजनीतिक तनाव, खाद्य तथा ऊर्जा असुरक्षा, मुद्रास्फीति र राजस्वको अभावले झनै जटिल बनाएको उल्लेख गरे।

‘विकास सहयोग राष्ट्रिय प्राथमिकतासँग मेल नखाने अवस्थामा दीर्घकालीन परिणाम हासिल गर्न कठिन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले जलवायु परिवर्तनका असरहरूले भूमि अवरुद्ध राष्ट्रहरूले हासिल गरेका विकास उपलब्धिहरू मेटिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, वर्तमान संकटमा आशाको झल्को ल्याउने कार्यक्रमको रूपमा ‘अवाजा कार्ययोजना’ लाई उल्लेख गरे ।

दक्षिण–दक्षिण सहयोगको महत्त्वमाथि प्रकाश पार्दै उनले यसले समानता, साझा स्वामित्व र पारस्परिक सम्मानको आधारमा सीप आदान–प्रदान, प्रविधि स्थानान्तरण तथा क्षमता विकासमार्फत आवश्यकतालाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगलाई थप प्रभावकारी बनाउने चार प्रमुख रणनीतिक कार्यहरू यस प्रकार प्रस्ताव गरे :

दक्षिण–दक्षिण तथा त्रिकोणीय सहयोगमार्फत दिगो भौतिक तथा डिजिटल पूर्वाधारमा लगानी गर्दै क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्नु ।

व्यापार तथा पारवहन गल्लीहरूको विकास, पूर्वाधारको आधुनिकीकरण र सीमापार व्यापारलाई सहज बनाउने प्रक्रियाको एकरूपता सुनिश्चित गर्नु ।

एलएलडिसिका लागि पूर्वाधार लगानी कोष स्थापना गरी प्राथमिक विकास परियोजनाहरूमा वित्तीय स्रोत जुटाउनु ।

डिजिटल रुपान्तरणलाई तीव्र गति दिँदै विश्व डिजिटल अर्थतन्त्रमा सार्थक सहभागिता सुनिश्चित गर्नु ।

प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगलाई साझा प्रगतिका लागि एक गतिशील शक्तिका रूपमा पुनः जागृत गर्न सबैलाई आह्वान गर्दै नेपालले सहकार्य र साझेदारीमार्फत समावेशी तथा दिगो समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता दोहोर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस