अबको युवा आन्दोलनको साझा मुद्दा कृषि हुनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ कार्यक्रममा उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए ।
उनले पहाडमा जमिन खाली हुने, खेती नगर्ने तर युवाहरू काम भएन भनेर विदेश जाने क्रम बढेको बताए । उनीहरूलाई कृषि कर्ममा लगाउन सके धेरैले स्वदेशमै रोजगारी पाउने उनको भनाइ छ ।
“खासगरी पहाडमा जमिनहरू बाँझै रहने र युवाहरू रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ । किनभने नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र भनेकै कृषि क्षेत्र हो,” उनले भने ।
महासचिव पोखरेलले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्न सकिने बताए । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको उनले बताए । नयाँ पुस्तालाई कृषि कर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने उनको भनाइ छ ।
“अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ । कुनै पनि मुलुकलाई समृद्ध बनाउने हो भने कृषि महत्त्वपूर्ण माध्यम हो । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ,” पोखरेलले भने ।
महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए । मानिसको जीवन निर्वाहका लागि अन्न अनिवार्य रहेको उनको भनाइ छ ।