रहेनन् खप्तड गोल्डकपका संस्थापक सुरेश हमाल

द एभरेष्ट पोष्ट
१५ साउन २०८२ १६:४८
रहेनन् खप्तड गोल्डकपका संस्थापक सुरेश हमाल

धनगढी । अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन भएको छ । बुधबार भारतमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हमालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेको थियो ।
उनको निधनले सुदूरपश्चिम खेलकुद क्षेत्रले अभिभावक गुमाएको महसुस भएको छ । खेलकुदमा व्यावसायिकता र भविष्य खोजिरहेका युवाहरूका लागि हमाल आशाको केन्द्र थिए ।
‘उहाँ हाम्रो परिवारको मात्र होइन, खेलकुद जगतकै नायक हुनुहुन्थ्यो । कसैले नआँटेको काम गर्नुभयो,’ भावुक हुँदै भतिजा कल्पित हमालले भने, ‘त्यो पनि कुनै व्यक्तिगत स्वार्थ बिना, खेलाडी र खेलको विकासका लागि ।’

हमालले आफ्नो पारिवारिक जिम्मेवारी र व्यक्तिगत सुखसुविधालाई समेत पछाडि राखेर खेलकुदमा लगानी गरेको कल्पितले बताए । उनले सुदूरपश्चिम स्पोर्ट्स क्लब मार्फत खेलाडीहरूलाई अवसर दिएका थिए । खेलाडीलाई वर्षैभरि आफ्नै घरमा राखेर खाने, बस्ने र व्यावसायिक तालिमको पूर्ण व्यवस्था मिलाउने गर्थे । खेलाडीको प्रतिभा निखार्न बाहिरका प्रशिक्षक समेत ल्याउने गर्थे ।

‘उहाँले जस्तो त्याग सायदै अरू जो कसैले गर्न सक्दैन, हामी त उहाँकै रगत हौं, तर उहाँले जस्तो हिम्मत गर्न हामी सक्दैनौं । देशलाई उहाँजस्ता अरू १० जना सुरेश हमालको खाँचो छ,’ कल्पितले भने ।
सुदूरपश्चिममा सर्वाधिक धनराशिको राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्नु चानचुने कुरा थिएन । सुरेश हमालले यही असम्भव जस्तै लाग्ने सपनालाई विपनामा बदले । उनले ‘खप्तड गोल्डकप’ को अवधारणा ल्याए र त्यसलाई छैटौं संस्करणसम्म सफलतापूर्वक आयोजना गरेरै छाडे ।

हमाल र उनको टिमको अथक प्रयासले धनगढीको मैदानमा देशका नाम चलेका क्लबहरूले प्रतिस्पर्धा गरे । यसले स्थानीय खेलाडीलाई एक्सपोजर मात्र दिएन, समग्र क्षेत्रमा खेलकुदको एक नयाँ लहर सिर्जना गर्‍यो । तर दुई वर्षअघि जब उनी बिरामी परे, गोल्डकपको त्यो रौनक पनि एकाएक रोकियो । उनको स्वास्थ्यसँगै गोल्डकपको भविष्य पनि अनिश्चित बन्न पुगेको थियो ।

धेरैलाई थाहा नहुन सक्छ, फुटबलका यति ठूला आयोजक हमाल आफैँ भने सुरुमा तेक्वान्दोका खेलाडी थिए । विद्यालय जीवनदेखि नै खेलकुदमा होमिएका उनले तेक्वान्दोमा राम्रो सम्भावना देखाएका थिए । तर एउटा अनौठो समस्या उनको खेल जीवनमा बाधक बन्यो । उनलाई हवाईजहाजमा यात्रा गर्न अत्याधिक डर लाग्थ्यो । यही कारणले उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धा गर्ने अवसर गुमाए ।

तर एउटा बाटो बन्द हुँदा हजारौं बाटा खुल्छन् भने झैं उनले आफ्नो व्यक्तिगत खेल यात्रा टुङ्गिए पनि अरूको लागि बाटो बनाउने अठोट गरे । कलेज अध्ययनका लागि धनगढी आएपछि उनले सुदूरपश्चिमको खेलकुदलाई नै आफ्नो कर्मक्षेत्र बनाए । ‘यदि म उडेर बाहिर जान सक्दिनँ भने बाहिरकालाई नै यहाँ बोलाएर एउटा मञ्च तयार गर्छु’ भन्ने सोचले उनलाई खप्तड गोल्डकपको योजनाकार बनायो ।
कैलालीको भजनी नगरपालिका –५ मा जन्मेका हमाल ४८ वर्षका थिए । उनी धनगढीमा बसोबास गर्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस