हायु परिवारलाई फर्काउन वडाध्यक्ष पुगे पोखरा, नयाँ घर बनाइदिने आश्वासन

काठ्माण्डौँ- घर छोडेर हिँडेको हायु परिवारलाई फर्काउन गोलञ्जोर-६, सिन्धुलीका वडाध्यक्ष रवीन श्रेष्ठ पोखरा पुगेका छन्।
उनले उक्त परिवार फर्किए तत्कालका लागि अस्थायी टहरा र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिएका छन्।
वडाध्यक्ष श्रेष्ठ हायु परिवारलाई भेट्न बुधबार पोखरा पुगेका हुन्। घर छोडेर हिँड्नुको कारण सोद्धा परिवार बिरामी भइरहने, तर्साएको जस्तो लाग्ने गरेको बताएको श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य ५२ वर्षीया उर्मिला हायूले त्यस घरमा बस्नै मन नलागेको र भित्रैदेखि डर लाग्ने गरेको बताएकीछन्।
तर जेठा छोरा राजुचाहिँ घर फर्कन सहमत भएका छन्।
‘अहिलेसम्म आमाले फर्किन मान्नुभएको छैन। जेठा छोरा राजुचाहिँ फर्कन सहमत हुनुभएको छ,’ श्रेष्ठले भने, ‘अब परिवारलाई निर्णय गर्न दुई घण्टाको समय दिएका छौँ। उहाँहरूले मान्नुभयो भने आजै फर्काएर लैजान्छौँ।’
सिन्धुलीको गोलञ्जोर-६ को १६ जनाको हायु परिवार अहिले पोखराको गगनगौँ गएर बसिरहेको छ।