भिजिट भिसामा विदेश पठाउने गिरोह अझै सक्रिय, कुवेत जान लागेका ४७ महिला फर्काइए

काठमाडौं– सदनदेखि सडकसम्म भिजिट भिसा प्रकरण छानबिनको माग उठेर चौतर्फि सरकारको आलोचना भइरहँदा अझै पनि भिजिट भिसामार्फत विदेश पठाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
गत साउन ८ गते भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट ४७ महिला नेपाल फर्काइएपछि भिजिट भिसामा विदेश पठाउने गिरोह अझै सक्रिय रहेको पाइएको हो ।
नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरु कुवेत जान लागेको अवस्थामा भेटिएपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उनीहरुलाई नेपाल फर्काइएको प्रहरीले जनाएको छ । दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्काइएको हो ।