महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामको गति बढाउन सिँचाइमन्त्री खड्काको निर्देशन

द एभरेष्ट पोष्ट
१५ साउन २०८२ १३:०२
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामको गति बढाउन सिँचाइमन्त्री खड्काको निर्देशन

कञ्चनपरः सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता आयोजनामा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताए।

राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसँग जोडिएका आयोजना यो सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले बजेट कम आएको छ भन्ने नसोच्नुस्, काम र खर्चको गति बढाउनुहोस्, बजेटको चिन्ता नगर्नुहोस् भनी आग्रह गरे।

मन्त्री खड्काले भने, “निर्माणाधीन नहरमा पानी सञ्चालन गर्न पनि धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउनु प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन।”सोमवार निर्माणाधीन नहरको अवलोकन गरेपछि राति ९ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय पुगेका उनले कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको टिम र सरोकारवालालाई राखेर यस्तो बताए।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका कार्यालय प्रमुख डाक्टर योगेन्द्र मिश्रले प्रस्तुत गरे कार्ययोजनामा तीन वर्षमा पूरा गर्ने भनिएको कामलाई सकभर एक वर्ष नभए डेढ वर्षमा सक्ने गरी लाग्न उनले निर्देशन दिए। “तपाईंले तीन वर्षमा सक्ने भनेर प्रस्तुत गरेको देख्दा केही सानो विवाद आउँदा सोझै पाँच वर्ष लाग्ने देखिन्छ, जसले लागत पनि बढ्छ, मुआब्जा विवादलाई चाँडो समाधान गरेर द्रुत गतिमा काम अगाडि बढाउनु पर्‍यो।

पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने गरेर काम भइसकेको हुँदा बनेको नहरमा पानी सञ्चालन गरेर किसानलाई सुविधा दिनमा ढिलाइ गर्न नहुने कार्यालय प्रमुख मिश्रको भनाइ छ।

“संरचना तयार भए पनि भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहरबाट यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्, पानी छोड्न सक्यो भने सिँचाइका साथसाथै नहरको संरक्षणसमेत हुने छ,। कार्यालय प्रमुख मिश्रले भने, “थप काम गर्न र किसानलाई सम्झाइबुझाइ गर्नसमेत सजिलो हुन्छ, बनेको ठाउँमा पानी चलाउन नसक्दा किसानले जग्गा दिन आनाकानी गर्ने, पानी ठेगान नभएको भन्दै किसान हर्षित नहुने समस्या छ।” पानी सञ्चालन गर्न पहल गरिदिनसमेत उनले आग्रह गरे।

टनकपुर ब्यारेजबाट भारतीय पक्षले पानी नछाड्दा किसानको खेतमा पानी पुग्न नसकेको हो। सो नहर निर्माण भएर परीक्षणसमेत भइसकेको अवस्थामा भारतीय पक्षले आनाकानी गर्दा पानी सञ्चालन हुन सकेको छैन।

टनकपुरबाट पानी छाड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) ले पानी छाड्न नमानेको कार्यालय प्रमुख मिश्रले बताए। एनएचपिसीले माथिल्लो तहबाटै उद्घाटन गरेर मात्रै पानी छाड्न सकिने बताउँदै आएको छ। “दिल्लीको आदेश आउनेबित्तिकै पानी छाड्छौँ भन्ने जवाफ एनएचपिसीका कर्मचारीले दिने गरेका छन्,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस