विश्वासको मत नपाए पनि मुख्यमन्त्री छाड्दिनँ: लामा
 
                                 काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाए पनि पदबाट राजीनामा नदिने बताएका छन्।
कांग्रेस संसदीय दलमा आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिनु नपर्ने बताएका हुन्।
उनले भने, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन। मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन।’
लामालाई संसदीय दलको नेताबाट हटाउन कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्तावमा आज मत विभाजन भएको हो।
कांग्रेस संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै पर्यो। उनको विपक्षमा २२ मत परेको छ। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     