उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन् ।
मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरूलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरे ।
उपत्यका बाहिर रहेका संघीय, प्रदेशीक लगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने उपलब्ध गराउन नसकिएको उनले बताए ।
मन्त्री पौडेलले अहिले उपत्यकामा आवश्यकताको करिब ७५ प्रतिशत र उपत्यका बाहिर करिब ३३ प्रतिशत मात्रै स्वास्थ्य जनशक्ति रहेको जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयमा जम्मा स्वास्थ्यकर्मीहरूको संख्या २६ सय रहेको र उपत्यका बाहिर आवश्यकताको एकतिहाई जनशक्ति समेत नरहेको उनले बताए ।
डेलले सबै स्थानमा आवश्यकता अनुसार जनशक्ति राख्न सकिए सोही स्थानमा हुने बिपद्मा तत्काल स्वास्थ्य सहयोग गर्न सहज हुने धारणा राखे ।
उनले स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेको समेत बताए । स्वास्थ्य संस्थालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए संकट व्यवस्थापनमा ठूलो सहयोग पुराउन सकिने उनको भनाइ छ ।