थारु समुदायमा आज गुरही पर्व मनाइँदै

द एभरेष्ट पोष्ट
१४ साउन २०८२ ११:१०
थारु समुदायमा आज गुरही पर्व मनाइँदै

धनगढी । कैलालीसहित विभिन्न जिल्लामा थारु समुदायमा मङ्गलबार गुरही पर्व मनाइँदैछ । बालबालिकाका पर्वको रुपमा गुरही पर्व मनाउन लागिएको हो ।

गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित छ । गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोगव्याधीले नसताउने, महामारी नफैलिने जनविश्वास रहेको छ ।

गुरही पर्वमा कपडाको गुरही बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख बिसर्जन गर्ने चलन रहेको छ । यो पर्वमा बालिका वा किशोरीहरुले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरुले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि बालिकाहरुले गुरहीसँग ल्याएको मकैको भुजा वा गेडागुडी बाँडेर खाने चलन रहेको छ ।

वर्षातको समयमा आँखा पाक्ने, घाउ खटिरा आउने, ज्वरो लगायतका स्वास्थ्य समस्या बालबालिकालाई हुने गर्दछ । यसलाई थारु भाषामा खाँज भन्ने गरिन्छ । गुरही पर्वले बालबालिकामा लाग्ने खाँज हटाउने गरेको बताइएको छ । आज धनगढीको गुरही चौकसहित विभिन्न थारु गाउँमा भव्यताका साथ गुरही पर्व मनाइने थारु अगुवा ठाकुरप्रसाद करिया प्रधानले जानकारी दिए।

साहित्यकार छविलाल कोपिलाका अनुसार गुरही पर्व थारु समुदायकी गुरही नामकी एक बालिकासँग जोडिएको छ । महामारीले धेरै बालबालिकाको ज्यान गइरहेको बेला एक गरिब घरमा देवीको रुपमा जन्मिएकी गुरहीले कपडाको गुरही, गुरहा बनाएर खेलाउने गरेको उल्लेख गर्दै उनले थपे, “त्यसपछि उनले गुरहीगुरहाको विवाह गराएपछि गुरहीगुरहाको सङ्ख्या व्यापक बढेको लोककथामा पाइन्छ । अनि, ती गुरहीगुरहाले भुसुना लगायतका महामारी फैलाउने किरालाई खाएर सखाप पारे । जसको कारण बालबालिकाको मृत्युदर घटेपछि थारु समुदायमा गुरही पर्व मनाउने चलन भएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस