अछामको बयालपाटा अस्पताल प्रदेश सरकारमातहत

द एभरेष्ट पोष्ट
१४ साउन २०८२ १०:५६
अछामको बयालपाटा अस्पताल प्रदेश सरकारमातहत

अछाम । बयालपाटा अस्पताल प्रदेश सरकारमातहत सञ्चालन गर्न बाटो खुलेको छ । केही वर्षदेखि आर्थिक सङ्कटको सामना गरिरहेको अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न बाटो खुलेको हो । बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी कानुन बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो । भदौ १ गते बाट ५० बेडको अस्पताल प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गैरसरकारी संस्था न्याय हेल्थ नेपालमार्फत सञ्चालन भइरहेको अस्पताल पछिल्लो समय दाताले हात झिक्दै गएपछि आर्थिक सङ्कटमा थियो । सामाजिक विकासमन्त्री मेघराज खड्काले बयालपाटा अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने निर्णय ऐतिहासिक भएको बताएका छन् । उनले भने, “हामीले केवल भौतिक पूर्वाधार मात्र हैन, गुणस्तरीय सेवा दिने संरचना निर्माण गर्न खोजेका हौँ, बयालपाटा अस्पताल प्रदेशमातहत ल्याएर हामीले संविधानले तोकेको दायित्व र जनताको अपेक्षा दुवै पूरा गर्न खोजेका छौँ ।”

स्वास्थ्य सेवा राज्यको उत्तरदायित्व मात्रै नभई जनताको विश्वास र जीवन रक्षासँग पनि जोडिएको विषय हो भन्दै मन्त्री खड्काको ५० बेडको सुविधा सम्पन्न अस्पताल बनाइने बताए।

आफूले चुनावी घोषणापत्रमा नै बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि पहल गर्ने कुरा उल्लेख गरेका खड्का सामाजिक विकासमन्त्री बनेपछि निरन्तर अस्पतालको व्यवस्थापनबारे पहल गरेका थिए । आफ्नै पहलले स्थानीय जनताको स्वास्थ्यप्रति देखिएको गम्भीर अभावलाई सम्बोधन गर्नुका साथै सरकार जनताप्रति उत्तरदायी हुँदै गएको स्पष्ट सङ्केत दिएको उनको दाबी रहेको छ ।

प्रदेश सरकारमातहत आएपछि अस्पतालमा जनशक्ति, औषधी, उपकरण, विशेषज्ञ सेवा तथा मातृशिशु स्वास्थ्य, आकस्मिक सेवा, सर्जरी सेवालगायतका थप सेवा विस्तार गरिने मन्त्री खड्काले बताए । स्वास्थ्यकर्मीको कार्यसम्पादन मूल्याङ्कन, पारदर्शी व्यवस्था र अनुगमन प्रणाली पनि सुदृढ गरिने उनले जानकारी दिए । स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मी यो निर्णयलाई दीर्घकालीन र दूरदर्शी कदमका रूपमा लिइरहेका छन् । आधुनिक भौतिक संरचनामा सञ्चालित बयालपाटा अस्पताल १७ वर्षपछि सरकारको मातहतमा आउने भएको छ ।

अस्पतालले अछामसहित बाजुरा, डोटी, कालीकोट, दैलेखलगायतका दुर्गम जिल्लाका नागरिकलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यो अस्पताल दुर्गमका जनताको स्वास्थ्य सेवामा वरदान नै साबित भएको छ । अस्पतालले हाल दिइरहेको सेवा सुविधामा प्रदेश सरकारको मातहतमा सञ्चालन भएपछि पनि कुनै कमी नहोस् भन्नेतर्फ सरोकारवाला सचेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस